कहाँ छन् बालकृष्ण ढुंगेल ? पक्राउ गर्न दिएको सर्वाेच्च अदालतको आदेश सरकारद्वारा अवज्ञा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ साउन । व्यक्ति हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई पक्राउ गरिएको छैन ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । त्यसपछि गरिएको पुनरावेदनमा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर, २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको थियो।

सर्वस्वसहित जन्मकैदको सजाय सुनाउँदा ढुंगेल बहालवाला सभासद् थिए । तर, राजनीतिक आडमा उनी हालसम्म पक्राउ पर्न नसकेको पीडित श्रेष्ठ परिवारका सदस्यहरुले बताउने गरेका छन् ।

गएको फागुन ३० गते गृहजिल्ला ओखलढुंगामा भएको एक सार्वजनिक कार्यक्रममा अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने ढुंगेलले अभिव्यक्ति दिएका थिए । त्यसपछि अभिवक्ता दिनेश त्रिपाठीले ढुंगेलविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

गएको चैत ३१ गते उक्त मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले सात दिनभित्र ढुंगेललाई पक्राउ गरी त्यसको सर्वाेच्च अदालतमा गराउन प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको थियो । साथै सर्वोच्च अदालतले ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको थियो ।

अदालतको फैसलाको अवज्ञा र अनादर भाषण गरिहिड्ने कार्य स्वीकार्य नहुने भन्दै सर्वोच्चको उक्त आदेशमा भनिएको छ, ‘अदालतबाट सजाय पाएका व्यक्ति फैसला मान्दिनँ, खारेज गर्छु भन्ने र फैसला कार्यान्वयन गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रति अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नु पर्ने निकायहरु मुखदर्शक बन्ने स्थिति हरेक मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन ।’

अदालतको उक्त आदेश सरकारबाट पालना भएको देखिएन । हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् । सर्वाेच्च अदालतको उक्त आदेश दिएको साढे तीन महिना पुगिसकेको छ । हाल माओवादीकै नेता जनार्दन शर्मा गृहमन्त्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *