हात खुट्टा बाँधिएकी भरतपुर मेयर रेणु दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ साउन । निकै चासो र विवादकाबीच चितवनको भरतपुर महानगरपालिकाको सबै वडासहित मेयर र उपमेयरको निर्वाचन सम्पन्न भएको छ । मेयर उम्मेदवारको घोषणादेखि परीणाम सार्वजनिकपछिसम्म पनि भरतपुर चर्चा र विवादमा रह्यो ।

मतपत्र च्यातिएपछि बढेको विवाद अदालतको आदेशलेसम्म साम्य पार्न सकेको छैन । भलै पुनः निर्वाचनपछिको परीणामलाई एमालेले स्वीकारेको छ, कानुनी र व्यवहारिक रुपमा । तर, एमालेका नेताहरुको अभिव्यक्तिलाई हेर्ने हो भने आफूलाई नियोजित रुपमा पराजित गरेको अनुभव गरिरहेको छ । यसले मेयरमा निर्वाचित कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई आगामी दिनमा काम गर्न त्यति सजिलो देखिँदैन ।

चुनावी प्रचार प्रसारमा निकै आशा देखाएका सबै उम्मेदवार मध्य एक रेणु दाहाल पनि हुन् । उनका पिता पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धन पार्टी कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त चुनावी कार्यक्रममा आकर्षक विकास निर्माणदेखि विभिन्न आशा देखाएका छन्– भरतपुरवासीलाई । यी सबै पूरा गर्ने प्रमुख दायित्व नवनिर्वाचित मेयर रेणुको काँधमा आएको छ । पिता प्रचण्डको चुनावी क्षेत्रका रुपमा समेत हेरिएको भरतपुरलाई स्थानीयले लिएको आशा पूरा गर्दै समृद्ध बनाउनु रेणुको आगामी कदम मान्न सकिन्छ । तर, रेणु अल्पमतमा छिन्, जसले भरतपुरवासीको आशा पूरा गर्न फलामको चिउरा चपाएसरी हुनेछ ।

निकै कमजोर धरातलमा रहेकी रेणुलाई कांग्रेसको साथ नरहेको खण्डमा निर्णय लिन कठिन हुनेछ । नेपाली राजनीतिमा परिवर्तन भइरहने समिकरणको मारमा परिन् भने रेणु निर्णयविहीनको अवस्थामा पुग्नेछिन् । कांग्रेस वा एमालेको सहयोगबिना रेणुले महानगरसभाबाट महत्वपूर्ण निर्णय लिन सक्दिनन् ।

भरतपुर महानगरमा २९ वटा वडा रहेका छन् । जसमा माओवादी केन्द्रले मेयरसहित ३ वटा वडाध्यक्षमा जितेको छ । नियोजित रुपमा आफूलाई पराजित गरेको अनुभव गरेको एमालेले १४ वटा वडामा जित हासिल पारेको छ । महानगर सभामा एमाले एक्लैको ४८ प्रतिशत उपस्थिति रहेको छ । आफूलाई दरबिलो बनाउन रेणुलाई ४१ प्रतिशत उपस्थिति जनाएको कांग्रेसको साथ आवश्यक पर्छ । एमालेको साथ रेणुलाई रहने सम्भावना न्यून छ ।

२९ वटा मध्ये १४ वटा वडा एमाले, १२ वटा कांग्रेस र ३ वटा वडा माओवादीले जितेको छ । जसमा एमालेले वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ जितेको हो । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडामा आफ्नो उपस्थिति देखाएको छ । मेयरमा निर्वाचित माओवादी केन्द्रले १३, २५ र २६ नम्वर वडामा मात्रै जित हासिल गरेको हो ।

रेणुलाई एमालेको साथ नरहने संकेत

भरतपुर महानगर मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै कांग्रेस–माओवादी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छिन् । आफ्नो जित सुनिश्चित भएका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेको ज्ञवालीसहित एमालेको बुझाइ आजपर्यन्त छ । यसको असर रेणुलाई पर्ने आइतबार गर्न लागिएको शपथ ग्रहण कार्यक्रमलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेको घटनाले देखाउँछ ।

मतपत्र च्यात्नेहरुसँग शपथ नलिने भन्दै उनीहरुले आइतबारका लागि तय गरेको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । मेयरमा विजयी रेणु दाहाल, उपमेयरमा निर्वाचित कांग्रेसकी पार्वती शाहसहित वडाध्यक्ष र सदस्यलाई शपथ गराइने भनिएपनि एमालेले बहिस्कार गरेको छ । यद्यपी कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले भने पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *