जिरेखुर्सानीमा अब ‘भोक लाग्यो’ श्रीमतीसाथ देखापर्ने, किन बसेनन् अमेरिका(भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,२५  भदौ । चर्चित नेपाली टेलिसिरियल मध्यको एक हो– जिरेखुर्सानी । नेपाली हास्यकला क्षेत्रमा टेलिसिरियलले धेरै नै कलाकारहरुलाई चिनाउने तथा स्थापित गराउने काम गरेको थियो । यसै मध्यका एक हुन्– देवीराम पराजुली । उनी जिरेखुर्सानीका ‘भोक लाग्यो’ हुन् । जिरेखुर्सानीले ‘भोक लाग्यो’ नामबाट पराजुलीलाई कलाकारको रुपमा स्थापित गरायो÷चिनायो ।

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनमा हरेक बिहीबार राती ८ बजेको समाचारपछि प्रशारण हुने गरेको जिरेखुर्सानीको ९ औं भागबाट पराजुली देखापरेका थिए ।

जिरेखुर्सानीको ९ औँ भागबाट देखापर्दा ‘भोक लाग्यो’ कुनै ठूलो सोच र अपेक्षा नराखी कलाक्षेत्रमा होमिएको बताउँछन् । २०५१ सालतिर रेडियो नाटक, सडक नाटकबाट कला क्षेत्रमा लागेका पराजुलीलाई जिरेखुर्सानीले भने ‘भोक लाग्यो’ नामले परिचित गरायो ।

२०६३ बाट प्रशारण सुरु गरेको हास्यटेलिसिरियल ‘जिरेखुर्सानी’मा ५१० भाग सञ्चालनपछि भने पूर्णविराम लाग्यो । भूकम्पसहित विविध कारणले रोकिएको ‘जिरेखुर्सानी’ अब फेरि आउने भएको छ । पराजुली उर्फ भोक लाग्यो भन्छन्, ‘ हरेक बिहिबार राती साढे नौ बजे जिरेखुर्सानी प्रशारण हुनेछ ।

’भोकलाग्यो’को लागि केटी खोज्दै हिड्ने क्रममै रोकिएको जिरेखुर्सानीको अब आउने भागमा भने उनको विवाह भइसकेको देखिनेछ । उक्त सिरियल बन्द भएपछि भोक लाग्यो विभिन्न स्टेज–शोहरुमा सहभागी भए भने केही समय डिपार्टमेन्टस्टोर पनि सञ्चालन गरे । साथै उनी अमेरिका पनि पुगे, तर १० महिनामै स्वदेश फर्किएर सबै कलाकार अमेरिका पुग्दैमा भासिँदैनन् भन्ने उदाहरण पनि दिए ।

यसबीचमा सामाजिक सञ्जालमार्फत ‘कता हरायो भोक लाग्यो ? अब आउँदैन क्या हो जिरेखुर्सानी ? के भयो र बन्द गर्नु भाको ? भन्ने दर्शकका जिज्ञासा मेटाउनु परेको अनुभव सुनाए देवीराम पराजुली उर्फ भोक लाग्योले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *