अत्याधुनिक अनुसन्धान ल्याब बनाउन वैज्ञानिक महावीर पुनले क–कसलाई गुहारे ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ । वैज्ञानिक महावीर पुनले खोल्न लागेको राष्ट्रिय आविष्कार केन्द्रले अत्याधुनिक ल्याब छिट्टै सञ्चालन गर्ने भएको छ । धेरैतिर दौडधूप गर्दा बल्ल बल्ल उनले रिसर्च सेन्टर अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट) सँग अनुसन्धान ल्याबका लागि स्थान उपलब्ध गराइदिन सम्झौता गरेका छन् ।

महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म पैसा मात्र उठाइरहेको छ, केही काम गरेको छैन भन्नेहरूका लागि अनुसन्धान ल्याबबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘अनुसन्धानका काम सुरु गर्न गइरहेका छौं, त्यसका लागी सहकार्य गर्न सकिन्छ कि भनेर ६ महिना अगाडि पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिनज्यूलाई सानो ठाउँका लागि प्रस्ताव राख्दा त्यहाँको दुई–तीनजना विज्ञ प्रोफेसरले सोझै बिरोध गर्नुभयो र त्यहाँको प्रशासनको तर्फबाट पनि केही कदम चालिएन,’ पुनले लेखेका छन् ।

त्यसपछि नास्ट गएर त्यहाँका जिम्मेवार व्यक्तिहरूसँग बैठक बसेर ल्याब बनाउने ठाउँका लागि प्रस्ताब राखे पनि चारपटकसम्म इमेल सम्पर्क गर्दा केही जवाफ नआएको उनको भनाइ छ । ‘त्रिभुवन बिश्वविद्यालयको कीर्तिपुरस्थित रिकास्टका सीइओसँग कुराकानी गरियो । उहाँ धेरै सहयोगी देखिनुभयो, तर उहाँलाई पनि सम्बन्धित संस्थाको सञ्चालकहरूसँग र त्रिवि उपकुलपतिसँग कुराकानी गर्न र सहमत गराउन दुई महिनाभन्दा बढी समय लाग्यो,’ पुनले लेखेका छन् ।

महावीर पुनले अर्को हप्ता सम्झौता गरेर काम अगाडि बढाउने तयारी भइरहेको जनाएका छन् । ‘टिनको छाना भएको घरलाई हामीले रिनोभेसन गरेर अनुसन्धान ल्याब बनाउने योजना बनाइरहेका छौं । यसो गर्दा लाग्ने सम्पूर्ण खर्च आविष्कार केन्द्रले गर्नुपर्ने हुन्छ, सो ठाउँ कम्तीमा १० वर्षका लागि उपलब्ध हुनेछ,’ पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *