गाडीले ठक्कर दिएपछि मन्त्रीलाई सर्वसाधारणले घेरे, प्रहरीको सुरक्षामा राज्यमन्त्री तप्तबहादुर विष्ट भागे (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा दुईजना मानिस घाइते भएका छन् । शुक्रबार अपरान्ह करिब पौने ५ बजेतिर सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार बा१झ ७१६३ नम्बरको गाडीले ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

जनताको सेवाका लागि भन्दै जनताले तिरेको करमा गाडी चढेर तलब भत्ता खाएका राज्यमन्त्री विष्ट आफू सवार गाडीले तिनै जनतालाई ठक्कर दिँदा ओर्लिएनन् । ट्राफिक प्रहरीले चालकको लाइसेन्स लिएर कारबाही गरेपनि मन्त्री विष्ट भने घाइतेहरुको अवस्था बुझ्न गाडीबाट झरेनन् ।

राज्यमन्त्रीको रवैयाबाट आक्रोशित बनेका सर्वसाधारणले उनलाई घेरेका थिए । तर, सुरक्षाकर्मीको सुरक्षामा राज्यमन्त्री विष्ट त्यहाँबाट हिँडेका थिए । आफू सवार गाडीले ठक्कर दिँदा नराम्रो लागेको मिडिया एनपीलाई प्रतिक्रिया दिएका मन्त्री विष्टले आफू गाडीबाट नझरेपनि उपचारको व्यवस्था गर्न लगाएर हिँडेको बताए । घाइतेको उपचार आफूले व्यहोर्ने र सहज वातावरण भएपछि अवस्था बुझ्न अस्पताल जाने उनले जानकारी दिए ।

मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएका १९ वर्षीय सहदेव श्रेष्ठ र ४१ वर्षीया अञ्जु श्रेष्ठको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालका धर्मेन्द्र यादवका अनुसार दुवैजनाको रामप्रताप साहसहितको चिकित्सकीय टोलीले उपचार गरिरहेको छ ।

घाइतेहरुको एक्स–रे, ल्याव टेष्टसहित सिटी स्क्यान समेत गर्नुपर्ने अवस्था देखिएको यादवले मिडिया एनपीलाई जानकारी दिए । उनकाअनुसार घाइतेहरुको अवस्था अहिलेनै भन्न सकिने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *