म्यानमारमा बीबीसी संवाददाताले के देखे?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अधिकारीहरुको निगरानीमा मुस्लिमहरुको यो बजारमा पत्रकारलाई जाने अनुमति दिइएको थियो

म्यानमारको रखाइन प्रान्तबाट बांग्लादेश भागेका सबै ३ लाख मानिस उत्तरी जिल्ला मङ्गडाव, बुथिडांग र राथेडांगका हुन्। ती जिल्ला पुग्न निकै गाह्रो छ। बाटोको अवस्था दयनीय छ। त्यहाँ जान सरकारको अनुमति लिनुपर्छ जुन पत्रकारले विरलै पाउँछन्।

त्यसैले हामी १८ जना स्थानीय र विदेशी पत्रकारले सरकारले आयोजनालाई मङ्गडावको भ्रमणमा जाने अवसरको रुपमा उपयोग गर्यौँ। यसको अर्थ केवल ठाउँहरु हेर्नु र हामीलाई भेट्न चाहने व्यक्तिसँग मात्र भेट हुनु हो। तर त्यस्तो प्रतिबन्ध अन्तर्गत पनि कहिलेकाहीं तपाईँले महत्त्वपूर्ण भित्री कुरा पनि फेला पार्न सक्नुहुन्छ।

अर्कोतर्फ आफ्ना कुरा पनि सुन्नुपर्ने सरकारले तर्क छ। उसले अहिले सशस्त्र विद्रोहको सामना गरिरहेको छ। तथापि कैयौँले त्यसलाई सरकार आफैंले निम्त्याएको समस्या ठान्छन्।

रखाइन राज्यमा साम्प्रदायिक द्वन्द्वको इतिहास लामो छ। र, त्यसलाई नियन्त्रण गर्नु कुनै पनि सरकारको निम्ति निम्ति कठिन काम हुन सक्छ।

रखाइन प्रान्तको राजधानी सिट्वे पुग्दा कसैले पनि समूह नछाड्न र स्वतन्त्र रुपमा काम गर्ने प्रयास नगर्न हामीलाई निर्देशन दिइयो। त्यहाँ साँझ ६ बजेदेखि कर्फ्यू जारी गरिएकाले रात परेपछि हिँडडुल गर्न मिल्दैन। हामीले आफूलाई रुचि भएको ठाउँमा जान अनुमति माग्न सक्छौँ, सुरक्षाको कारण भन्दै त्यस्ता अनुरोधहरु अस्वीकार गरियो। इमानदारीपूर्वक भन्नुपर्दा उनीहरु हाम्रो सुरक्षाप्रति चिन्तित रहेको मलाई लाग्यो।

सिट्वेबाट बुथिडांगको यात्रा ६ घण्टाको छ। उक्त नगरमा लग्दा पहिलो पटक हामीले जलेको म्यो थु गी गाउँ काट्यौं। रुखहरु जलिरहेका थिए।

मङ्गडावमा रोहिंज्याका घरहरु जलाइएका छन्

हामीलाई त्यहाँको भ्रमण गराउनुको सरकारी उद्देश्य बांग्लादेश पुगिरहेका रोहिंज्या शरणार्थीबाट आमरुपमा आइरहेका नकारात्मक धारणाहरुलाई सन्तुलित गर्नु थियो। जो सबैजसोले भयावह रुपमा मानवअधिकारको उल्लंघन र रखाइन भीड तथा म्यानमार सैनिकले विध्वंसको अभियान चलाएको बताएका छन्।

तर अहिले उक्त प्रयास कमजोर देखिन्छ।

पहिले हामीलाई एउटा सानो विद्यालय लगियो। जुन हिन्दु परिवारहरुको भीडले भरिएको छ। ती सबैसँग ‘मुस्लिमले आक्रमण गरिरहेको, डरले भागिरहेको’ भन्ने एकै खालको कथा छ। अस्वभाविक के भने भागेर बांग्लादेश पुगेका रुपमा हिन्दु धर्मावलम्बीहरुले आफूहरु रोहिंज्या जस्तै देखिने भएकाले स्थानीय बौद्धमार्थी रखाइनबाट आफू आक्रमणमा परेको बताएका छन्।

विद्यालयमा हामी अधिकारी र हतियारधारी प्रहरीद्वारा लगिएका थियौँ। के उनीहरुले स्वतन्त्र रुपमा बोल्न सक्छन्? कसरी सुरक्षाकर्मीले उनीहरुको गाउँमा गोली चलाए भन्ने कुरा एकजना मानिसले मलाई भन्न थाले तर नजिकैका एकजनाले तुरुन्तै सच्याए।

सुन्तला रंगको ब्लाउज र विशेष प्रकारको खैरो र हल्का बैजनी रंगको लुङगी लगाएकी एक महिलाले खासगरी मुसलमानबाट भएको दुर्व्यवहारबारे सक्रियतापूर्क कुरा गरिन्।

एकजना भिक्षुले मुस्लिमहरुले आफ्ना घर आफैंले जलाएको बताए।

हामीलाई एउटा बौद्ध मन्दिरमा लगियो, जहाँ एकजना भिक्षुले नजिकैको आफ्नो घरमा मुसलमानहरुले आगो लगाइदिएको सुनाए। त्यसो गर्दा खिचिएका फोटोहरु पनि हामीलाई दिइयो। ती अनौठा थिए।

हाजी टोपी पहिरिएका मानिसहरुले घरको छानोमा आगो लगाइरहेका थिए। जालीदार कपडाले टाउको ढाकेको देखिने महिलाहरुले अचम्म लाग्ने गरी छुरा र तरबार चलाइरहेका छन्। पछि मैले तीमध्ये एकजना महिला विद्यालयमा आक्रोशित तिनै हिन्दु महिला भएको र विस्थापित हिन्दुहरुसँगै उपस्थित एकजना पुरुष पनि रहेको थाहा पाए।

मुस्लिमहरुले आगो लगाइरहेको देखाउन ती फोटो नक्कली रुपमा बनाइएका थिए।

हामीले सीमा सुरक्षासम्बन्धी स्थानीयमन्त्री कर्णेल फोन टिन्टसँग कुरा गर्यौं। उनले ‘बंगाली आतंकवादीले रोहिंज्या गाउँलाई कब्जामा लिएको र एक घरबाट एकजना लडाकु पठाउन बाध्य बनाएको’ बताए। उनको भनाईमा जसले त्यो कुरा अस्वीकार गर्‍यो उसका घर जलाइएका छन्। लडाकुले बारुदी सुरुङ बनाइएको र ३ वटा पुल ध्वस्त बनाएको आरोप पनि लगाए। उनले अराकान रोहिंज्या साल्भेशन आर्मीलाई बंगाली आतंकवादी भन्छन्।

दर्जनौं गाउँहरु लडाकुले ध्वस्त बनाएको भन्ने उनको भनाई हो? भनी मैले उनलाई प्रश्न गरे। उनले त्यो सरकारको धारणा भएको पुष्टि गरे। सैनिकको अत्याचारबारे गरिएको प्रश्नलाई उनले बेवास्ता गरे। उनले प्रतिप्रश्न गरे, “प्रमाण कहाँ छ?” रोहिंज्या शरणार्थीहरुतर्फ संकेत गर्दै उनको थप भनाई थियो, “ती महिलाहरुलाई हेर्नुस् जसले त्यस्तो दावी गरिरहेका छन्, के कसैले उनीहरुलाई बलात्कार गर्न खोज्ला?”

थोरै मुस्लिमलाई मङ्गडावमा देख्न पाइयो जो क्यामेरा अघि बोल्न निकै डराएका थिए। निगरानी गरिरहेकाहरुको आँखा छलेर हामीले केहीसँग कुरा गर्यौँ। केहीले निकै त्रासको अवस्था र खानेकुराको अभाव रहेको तथा त्यो ठाउँ छाड्न सुरक्षा फौजले नदिएको सुनाए।

मुस्लिमहरुले आक्रमण गरिरहेको भन्दै यो तस्वीर पत्रकारहरुलाई उपलब्ध गराइएको थियो

एकजना जवान मान्छेले आफूहरु बांग्लादेश भाग्न चाहिरहेको बताए। तर तीनका नेताले अधिकारीहरुसँग त्यही बस्ने एउटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए। एउटा सुनसान बंगाली बजारमा मैले एकजना मानिसलाई कोसँग डराएको भनेर सोध्दा ‘सरकारसँग’ भन्ने जवाफ दिए।

हाम्रो यात्राको मुख्य गन्तव्य मङ्गडाव तटीय नगर अलेल थान क्याव थियो। त्यो ठाउँ अगस्ट २५ को बिहान एआरएसएले आक्रमण गरेका ठाउँहरुमध्येको हो। जब हामी त्यता लाग्यौँ एकपछि अर्को गाउँ खाली थिए। हामीले केही बाख्रा र गाई-गोरुका साथै रित्ता डुंगा देख्यौँ। त्यहाँ मानिसहरु थिएनन्।

अलेल थान क्यावका घरहरु ढलेका छन्। यतिसम्मकी मिड्सा साँ फ्रन्तीयद्वारा सञ्चालित जस्तो संकेत पाइने क्लिनिक पनि ध्वस्त छ। उत्तरतर्फ धूँवाको मुस्लो देखियो। स्वचालित हतियारबाट गोली चलेको आवाज पनि सुनियो। हामीले थप गाउँहरुमा आगो लगाइएको अनुमान गर्यौँ।

मुस्लिमले आक्रमण गरिरहेको भनिएको तस्वीरकी महिला पछि हिन्दु गाउँमा भेटिएकी थिइन्।

प्रहरी लेफ्टिनेन्ट आङ्ग क्याव मोइले कसरी आफूलाई थप आक्रमणको चेतावनी दिइएको कुरा हामीलाई सुनाए। उनले गैरमुस्लिमलाई सुरक्षाको निम्ति आफ्नो ब्यारेकमा लगेको र उनका जवानहरुले बन्दुक, घरेलु विस्फोटक पदार्थ र तरबारसहितका आक्रमणकारीसँग लडेको बताए। ३ घण्टाको लडाइँपछि उनीहरु भागेको उनको भनाई छ। त्यस क्रममा १७ जना लडाकु र एकजना अध्यागमन अधिकारी मारिएको बताउने उनका अनुसार त्यसपछि मुस्लिम समुदाय भागेका थिए।

तर उनलाई वर्षायाममा पनि आक्रमण भएको दुई सातापछि पनि केही नगरमा धूँवा देखिनुको कारणबारे व्याख्या गर्न गाह्रो परेको थियो। तथापि थोरै मुस्लिम बाँकी रहेको र हालसालै घर छाड्नुअघि आगो लगाएर गएको हुनसक्ने उनको भनाई थियो।

त्यसपछि हामी अलेल थान क्यावका फर्किरहेका बेला पूरै अप्रत्यासित घटना भयो।

सुरक्षासम्बन्धी स्थानीयमन्त्री कर्णेल फोन टिन्टले मुस्लिमहरुले नै आफ्नो गाउँ जलाएको दावी गरे

हामीले केही रुखहरुमा आगो लागिरहेको देख्यौँ। त्यो अर्को गाउँ थियो बाटोको नजिकै। र, आगो भर्खरै शुरु भएको थियो। हामी सबै करायौँ, हामीसँगका प्रहरी भ्यान रोक्न। जब उनीहरु रोकिए, आत्तिएका सरकारी सुरक्षाकर्मीलाई पछाडि छाडेर हामी दौडियौँ। प्रहरी हामीसामु आयो। तर गाउँमा पस्न सुरक्षित नभएको बताइएपछि हामी उनीहरुसँग अघि लाग्यौँ।

चारैतिर आगो लागेको र चरचराइरहेको आवाज सुनिन्थ्यो। मुस्लिम महिलाका कपडा माटोको बाटोमा यत्रतत्र छरिएका थिए। त्यहाँ बाटोमा हृष्टपुष्ट युवाहरु तरबार र छुरा लिएर उभिएका थिए। आफूतर्फ हतारिएर आइरहेका १८ जना पत्रकारलाई देखेर उनीहरु चकित थिए। उनीहरु क्यामेराबाट पन्छिन खोजे र तीमध्ये २ जना गाउँतर्फ दौडिएर बाँकीलाई लिएर भागे।


अलेल थान क्याव गाउँमा आगजनी गरिएको एक हप्तासम्म धूँवा निस्किरहेको थियो

उनीहरुले आफूहरु रखाइन बौद्धमार्गी भएको बताए। मेरा एकजना सहकर्मीले तीमध्ये एकजनासँग छोटो कुरा गर्न भ्याए। जसले प्रहरीलाई सहयोग गर्न घरहरुमा आगो लगाएको स्वीकार गरे।

जब हामी गाउँ गयौँ त्यहाँको मदरसाको माथिल्लो भागमा भर्खरै आगो लगाइएको थियो। विद्यालयका पुस्तक र अरबी लिपिका पुस्तकहरु बाहिर फ्याँकिएका थिए। बाटोमा फ्याँकिएको एउटा रित्तो जगबाट पेट्रोलको गन्ध आइरहेको थियो।

गाव्डु थार या एउटा मुस्लिम गाउँ हो। त्यहाँ बसोबासको कुनै संकेत बाँकी थिएन। रखाइन मानिसहरु गाउँमा आगो लगाएर प्रहरीको अघिबाटै बहिरिरहेका थिए। उनीहरुमध्ये केहीले लुटेका घरेलु सामान बोकेका थिए। आगो एउटा ठूलो प्रहरी ब्यारेकबाट नजिकै लगाइएको थियो। कसैले पनि त्यो रोक्न केही गरेनन्।

– बीबीसीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *