कहाँ छन् काठमाडौं–हेटौंडा सुरुङमार्गमा जनताको पैसा डुबाउने कुशकुमार जोशी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । कुशकुमार जोशी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष । हेटौंडा बासमाडीस्थित इकरात इन्जिनियरिङका सञ्चालक । जुन कम्पनीले नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर उत्पादन गर्ने गर्छ ।

उनै जोशी यतिखेर चर्चामा छन् । उनी चर्चामा आउनुको मुख्य कारण कुनै राम्रो काम गरेर भने होइन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गका नाममा नेपाली जनताको करोडौं रुपैयाँ जोखिममा पारेपछि उनको खोजी सुरु भएको हो ।

नेपाल पूर्वाधार कम्पनी स्थापना गरेर जोशीले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणको लाइसेन्स लिन सफल भएका थिए । त्यसका लागि उनले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्र छविराज पन्त र सचिव तुलसीप्रसाद सिटौलालाई प्रभाव पारी लाइसेन्स लिएका थिए ।

त्यसलगत्तै उनले स्वदेश र विदेशमा सुरुङमार्ग निर्माणका लागि भन्दै बजेट संकलन गर्न लागे । त्यति मात्र होइन, सुरुङमार्ग धेरै पर्ने मकवानपुरका जनतालाई सेयर दिने भन्दै धमाधम पैसा उठाए । यसरी करिब ३१ करोड रुपैयाँ संकलन पनि गरे । तर, विगत तीन वर्षदेखि जोशी सार्वजनिक रूपमा देखिनै छाडे ।

सुरुङमार्ग निर्माण गर्ने पहल एमाले नेता एवं सांसद सुवासचन्द्र ठकुरीकोे हो । सिस्नेरी गाविसका अध्यक्ष भएका बेला उनले काठमाडौं–दक्षिणकाली हुँदै हेटौंडा जाने सडक निर्माण गरेका थिए । सुरुमा यो सुरुङमार्ग निर्माण गर्न ठकुरीले १५० जना सदस्य रहेको सहजीकरण समिति गठन गरेका थिए । जसमा ठकुरी नै संयोजक रहेका थिए ।

सहजीकरण समितिले उद्योगी तथा व्यवसायीको पैसा उठाएर यो सुरुङमार्ग निर्माण गर्न व्यवसायीको पनि संलग्नता हुनपर्ने निर्णय गरेपछि पूर्वाधार विकास कम्पनी खोलेर जोशीलाई अध्यक्ष बनाइएको थियो । व्यापारिक तर्फबाट सञ्चालक समितिमा जोशी र प्रदीपजंग पाण्डे थिए । अध्यक्ष बनेपछि जोशीले आफ्ना आफन्त कर्मचारीको रूपमा भर्ना गर्ने काम गरे । त्यसले उनको निकै ठूलो आलोचना भयो । त्यही बेलादेखि पूर्वाधार विकास कम्पनी डुब्ने यात्रामा अघि बढेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको लाइसेन्स नै खारेज गर्ने बताएपछि यतिखेर जोशी तिलमिलाएका छन् । कम्पनीले सुरुङमार्गको काम धेरै अगाडि बढिसकेको भन्दै सरकारले लाइसेन्स खारेज गर्न नसक्ने जिकिर गर्दै आएको छ । कम्पनीका सिइओ सनद न्यौपानेल सरकारले लाइसेन्स खारेज गर्न नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *