नेपालकै पहिलो सरोदवादक नारी : दुई छाक टार्न त गाह्रो छ तर आनन्दित छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाजा सिक्ने सुरुवाती दिनहरू  कठिन थिए । बाजाका तारमा नङ घोट्दा–घोट्दा रुपाका औंला रगताम्य हुन्थे । चार–पाँच घन्टा एकै ठाउँमा बस्दा ढाड दुख्थ्यो । फेरि घरका काम पनि नभ्याई नहुने । तर उनले निरन्तरता दिन छाडिनन् । आजभन्दा भोलि कसरी राम्रो बजाएर देखाउँ, उनलाई त्यस्तै मात्रै लागिरह्यो । रुपा भन्छिन्, ‘अभ्यास यस्तो गरिएछ कि अहिले त ६ घन्टा लगातार बसेर बाजा बजाउँदा पनि केही हुँदैन ।’

‘संगीत मन पर्दैन भन्ने को होला ? तर, त्यही सबैको प्यारो भन्ने संगीतको कदर किन गर्दैनन् कोही ? सबै सित्तैमा मात्रै सुन्न पाए हुन्थ्योझैँ गर्छन् । संगीतको मूल्य र मर्म बुझ्ने भेट्नै गाह्रो छ । आधा जीवन पागल भएर संगीतमा लागेँ, लाग्दै छु । तर, दुई गाँस जुटाउन गाह्रो भइरहेको छ,’ सरोदवादक रुपाले दुखेसो पोखिनन् मात्रै आँसु नै खसाइन् र आशावादी हुँदै भनिन्, ‘साधना गरेर आनन्द लिन सिकेकी छु, आनन्दले मात्रै पेट नभरिने रहेछ । यसलाई व्यावसायिक बनाउने संघर्षमा छु ।’
रुपा न्यौपाने, उमेरले ५० टेक्न लाग्दै छिन्, जीवनको दुई दशक संगीतमै समर्पण गरिन् । उनी नेपालकै पहिलो सरोदवादक महिला हुन् । उनले धेरै दुःख र संघर्ष झेलेर सरोद बाजा बजाउन सिकेकी हुन् ।

रुपाको सानैदेखिको बानी थियो, समय मिलेसम्म रेडियोको नजिकै बसेर धुन सुन्ने, खासगरी शास्त्रीय संगीतको धुनले रुपालाई तान्थ्यो । रेडियो नसुनेको दिन त उनलाई शून्य लाग्थ्यो । ‘बेलुका आठ बजेको समाचारअघि शास्त्रीय संगीत बज्थ्यो, आमाले पस्किदिएको भात छाडेर धुन सुन्थें,’ मुस्कुराउँदै रुपा भन्छिन्, ‘यही क्षेत्रमै लाग्नु रैछ र पो त्यस्तो नशा लागेको ती धुनको ।’

संगीतप्रति उनको लगाव त थियो । तर, संगीत नै आफ्नो भविष्य बन्ला भन्ने रुपाले सायदै सोचेकी थिइन् ।

१२ वर्षकै उमेरमा विवाह

रुपा काठमाडौंको मूलपानीमा जन्मिएकी हुन्, किसान परिवारमा । उनलाई धमिलो सम्झना छ । उनी त्यस्तै पाँच वर्षकी थिइन् । एक दिन गाउँमा उनको बुवाले बेसरी झगडा गरेछन्, खेतमा कुलो लगाउने पालो मिचिएको किचलोमा । रुपा भन्छिन्, ‘त्यसपछि लगाएको बाली र छहारी दिने घर छोडेर हामी मधेस बसाइसर्यौँ, बारा कलैयामा ।’

उनका बुवाआमाले अरुको मेलापात गरेर जीविका चलाउन थाले । रुपा तीन बहिनीमध्ये जेठी हुन्, एक भाइ छन् । उनी भन्छिन्, ‘जेठी छोरी भएपछि घरको दुःख थाहा हुँदो रहेछ, परिवारलाई पीडा हुँदा मुटु पोल्दो रहेछ ।’

रुपा १२औँ वसन्तमा टेक्दै थिइन् । कक्षा पाँचमा पढ्दै पनि थिइन् । एक दिन उनका बुवाले भने, ‘तराईको ठाउँमा छोरी मान्छेलाई सुरक्षा छैन, खै मैले बलात्कारका धेरै घटना सुन्छु । अब तैंले विवाह गर्नुपर्छ, सामाजिक सुरक्षाका लागि भए पनि ।’

रुपाका बुवा धार्मिक कुरामा कट्टर थिए । छोरीलाई महिनावारी नहुँदै विवाह गरिदियो भने पुण्य कमाइन्छ भन्ने विश्वास राख्थे । रुपाको चाहना थियो— पढ्ने, लेख्ने अनि गायिका बन्ने । उनी भन्छिन्, ‘तर, बुवाको जिद्धीका अघि मेरो केही लागेन ।’ अन्ततः १२ वर्षकै उमेरमा रुपाको विवाह भयो, काठमाडौमा । विवाहपश्चात उनको गायिका सपना त्यसै बिलाएर गयो । रुपा भन्छिन्, ‘सुरुमा त ममाथि अन्याय नै भएजस्तो लागेको थियो, अहिले जे भयो ठिकै भयो जस्तो लाग्छ । किनभने, मैले मेरो सपना बुझ्ने श्रीमान् पाएकी छु ।’

 

गुरु मोहनचन्द्रसँग उनले अनुरोध गरिन्, ‘मलाई जसरी पनि सरोद बाजा बजाउनु छ ।’ गुरुले रुपाको हात छामे । हात फालिदिए । गुरुले भने, ‘सरोद बाजा बजाउने पनि नङ पाल्छन् त ? बाजा नङले मात्रै हो बजाउने, काटेर आउ ।’

गीतमा संगीत भर्ने सपना

१८ वर्षमै रुपा दुई सन्तानकी आमा बनिन् । घर–परिवारमै सीमित हुन मन पराउने खालको उनको स्वभाव थिएन । फेरि उनको परिवार आर्थिक रुपले त्यति सक्षम पनि थिएन । उनी काम गरेर परिवारको आर्थिक भार कम गर्न चाहन्थिन् । उनका श्रीमान्को सामान्य जागिर थियो । रुपा आफू पनि केही हुँ भनेर देखाउन चाहन्थिन् । तर, के गर्ने भन्ने निधो गर्न सकेकी थिइनन् ।

रुपाको एउटी मिल्ने साथी थिइन्, जानकी पन्त, उनकै घर नजिक बस्थिन् । जानकी गीत लेख्थिन् । रुपालाई जानकीका गीत असाध्यै मन पर्थे । उनले भित्रभित्रै त्यो गीतमा संगीत भर्ने सपना देख्न थालिन् । उनी भन्छिन्, ‘त्यही गीतमा संगीत भर्नका लागि भए पनि संगीत सिकौँझैँ लाग्यो ।’ जानकीको सहयोगमा रुपाले संगीतमा काम गर्ने मान्छेहरूसँग हेलमेल गर्ने मौका पाइन् । त्यतिखेर चलेका संगीत गुरु अतुल गौतम र अर्चनासँग रुपाले संगीत सिकिन् । सुरुमा उनले सितार बजाउन सिक्न थालिन् । त्यतिबेला रुपाका छोराछोरी स्कुल जाने उमेरका भइसकेका थिए । उनी खान पकाएर बाहिर निस्किन्थन्, बच्चाहरूले आफैँ पस्केर खान्थे ।

सुरुमा उनी सितार मात्रै बजाउँथिन् । उनी भन्छिन्, ‘सरगम संगीत जति बजाए उति बजाउन मन लाग्ने भयो, म त रातको २ बजे उठेर पनि बजाउँथे ।’ बिहानै के बजाएको होला भनेर छिमेकीले झ्याउ मान्थे, कराउँथे, सायद संगीत नबुझेर होला ।’
बिहान ४ बजेसम्म त उनले घरका सबै धन्दा भ्याइसक्थिन् । आमा, श्रीमती, र बुहारीको भूमिकामा आँच नआओस् भनेर उनी त्यसो गर्थिन् । त्यतिखेर उनी २४ वर्षकी थिइन् ।

के बजाउँदा राम्रो होला ? रुपाले गुरुलाई सोधिरहन्थिन् । गुरुले उनलाई सबैभन्दा फरक बाजा बजाउने सल्लाह दिए । गुरुका अनुसार फरक र गाह्रो बाजा थियो, सरोद बाजा । फरकपनले नै मानिसलाई चाँडै चिनाउँछ भने जस्तै थियो, रुपाको विचार । सरोद बाजा सिक्न महँगो शुल्क लाग्थ्यो । बाजा किन्ने पैसा पनि थिएन । महँगो शुल्क तिर्न सक्ने रुपाको आर्थिक हैसियत थिएन । मोहनचन्द्र श्रेष्ठ त्यतिखेरका प्रख्यात संगीतगुरु थिए । उनले सरोद बाजा सिकाउँथे । गुरु मोहनचन्द्रसँग उनले अनुरोध गरिन्, ‘मलाई जसरी पनि सरोद बाजा बजाउनु छ ।’ गुरुले रुपाको हात छामे । हात फालिदिए । गुरुले भने, ‘सरोद बाजा बजाउने पनि नङ पाल्छन् त ? बाजा नङले मात्रै हो बजाउने, काटेर आउ ।’

भोलिपल्टै रुपा गुरुकहाँ पुगिन्, सबै नङ काटेर । त्यतिखेर सरोद बाजा सिक्ने रुपा नेपालकै पहिलो महिला थिइन् । उनको आँट देखेर गुरुले रुपालाई निःशुल्क सरोद बाजा सिकाइदिने भए । उनले शुल्क नै लिएनन् । सुरुमा सरोद बाजा सिक्न रुपालाई निकै गाह्रो भयो । उनीसँग सरोद बाजा पनि थिएन । अभ्यास नै गर्न पाइनन् । रुपाका एकजना विदेशी साथी थिए– डेनियल बर्ड । रुपाको सरोद बाजाप्रतिको पागलपन देखेर डेनियल निकै प्रभावित थिए । पछि उनले नै रुपालाई सरोद बाजा उपहार दिए । पछि उनले सुरेशराज बज्रचार्यसँग बाजा सिकिन् । बाजा सिक्ने सुरुवाती दिनहरू रुपाका लागि कठिन थिए । बाजाका तारमा नङ घोट्दा–घोट्दा रुपाका औंला रगताम्य हुन्थे । चार–पाँच घन्टा एकै ठाउँमा बस्दा ढाड दुख्थ्यो । फेरि घरका काम पनि नभ्याई नहुने । तर उनले निरन्तरता दिन छाडिनन् । आजभन्दा भोलि कसरी राम्रो बजाएर देखाउँ, उनलाई त्यस्तै मात्रै लागिरह्यो । रुपा भन्छिन्, ‘अभ्यास यस्तो गरिएछ कि अहिले त ६ घन्टा लगातार बसेर बाजा बजाउँदा पनि केही हुँदैन ।’

उनी भन्छिन्, ‘भाग्यले एकचोटि ढोका ढकढक्याउँछ भन्छन् । खोल्न जानेदेखि जीवनमा सफल भइँदो रहेछ, सायद त्यसैले मेरो धोको पूरा भयो, सबै चाँजोपाँजो मिल्यो, आज ।’ रुपालाई सरोदबाजा सिक्न झन्डै सात वर्ष लाग्यो । रुपाले सरोदबाजा सिक्दै गर्दा परिवार असन्तुष्ट थिए । घर बाहिर धेरै जाने, प्रगतिका नाममा केही नदेखिँदा उनका परिवार रिसाउँथे । एक दिन रुपालाई उनका गुरुले नेपाल टेलिभिजन लिएर गए, त्यहाँ सांगीतिक कार्यक्रम रहेछ । रुपाले मालश्री धुन बजाउनुपर्ने थियो । टेलिभिजनको पर्दामा देखिएपछि मात्र पत्यायो परिवारले, रुपाको काम साँच्चिकै राम्रो रहेछ । त्यसपछि परिवारले अझै प्रेरणा दिन थाल्यो । त्यस दिन गुरुले उनलाई दुई रुपैयाँ दिए, पुरस्कार स्वरुप । त्यो दुई रुपैया रुपाको जीवनकै पहिलो उपहार थियो ।

रुपा भन्छिन्, ‘कसैले हाम्रो गीत–संगीत मन पराइहाले भने पुरस्कार भनेर दुई–चार पैसा दिई पनि हाल्छन् । तर, बाजा नै बजाएर साँझ–बिहानको छाक टारौँला, घर धानौँला भन्ने त कहिल्यै पूरा नहुने सपना जस्तै हो ।’
वर्षौंको समय लगानी गरेर सिकेको संगीत बजाएर जीविका चलोस् भन्ने उनी चाहन्छिन् । तर सुन्न सबैले चाहने लगानी गर्न नचाहने नेपाली संगीतप्रेमी देखेर उनलाई दिक्क लाग्छ । फेरि पनि उनी आशावादी छिन्, सरोद बाजा बजाएरै उनी आत्मनिर्भर हुन चाहन्छिन् । संघर्ष गर्दै छिन् ।

के हो सरोद बाजा ?
सरोद बाजा गीतार, सितारजस्तै हो । ‘यसमा फरक के मात्रै छ भने सितार, गीतार, हार्मोनियममा सारेगम भनेर बार छुट्याइएको हुन्छ,’ रुपा भन्छिन्, ‘सरोदमा भने यस्तो बार छुट्याएको हुँदैन । आवाज सुनेर बार आफैं छुट्याउनुपर्छ । त्यसैले यो अरु भन्दा फरक छ र अरु बाजा भन्दा गार्हो पनि छ ।’

यो बाजाको त्यति प्रचारप्रसार नभएकाले धेरैलाई नयाँ जस्तो लाग्छ । तर यो पुरानो बाजा हो । यो बाजा अफगानिस्तान, भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । भारतमा चलचित्रका गीत र गजलमा सरोद अनिवार्य प्रयोग गरिएको हुन्छ । रामशरण दर्नालको संगीत साधकहरू पुस्तकका अनुसार नेपालमा तन्डुकारहरूले यो बाजा भित्र्याएका हुन् । नेपालमा मोहनचन्द्र श्रेष्ठ, सुरेशराज बज्राचार्य सरोद वादकको रुपमा चर्चित छन् । बुलु मुकारुङको संगीत अभिलेख पुस्तकमा नेपालको पहिलो सरोद वादक महिलाको रुपमा रुपा न्यौपानेको नाम उल्लेख छ ।

फलैंचा संगीत अभियान

रुपा सरोद बाजालाई देशभर चिनाउन चाहन्छिन् । यसका लागि उनले फलैंचा संगीत नामक अभियान नै लिएर हिँड्दै छिन् । गत दुई वर्षदेखि उनी यसै अभियानमा लागिपरेकी छिन् । उनी भन्छिन्, ‘विदेशीहरू सरोदबाजाको अध्ययन अनुसन्धान गर्न नेपाल आउँछन्, म कहाँ । तर, सुनिरहने कति नेपालीहरूलाई आज पनि सरोदबाजाबारे थाहा नै छैन, न त वास्ता नै ।’

अभियानमा उनी मान्छेका घरसम्म पुग्छिन् । बिहे, व्रतबन्ध, जन्मदिन या कुनै विशेष अवसर जहाँ मानिसको भीड लाग्छ, त्यहाँ पनि उनी पुग्छिन् । सरोद बाजा बजाउँछिन् । सरोद बाजाका बारेमा जानकारी पनि दिन्छिन् । देशभर सरोदबाजालाई चिनाउने रुपाको उद्देश्य हो । यसका लागि उनको एउटा छुट्टै समूह पनि छ, जो शास्त्रीय संगीत बजाउँछन् । अहिलेसम्म उनले १९ वटा फलैंचा संगीत अभियान गरिसकेकी छिन् । आजभोलि २०औँ अभियानको तयारीमा जुटिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *