राजीनामापछि अब के गर्छन् नवराज सिलवाल ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । करिब २९ वर्ष नेपाल प्रहरीमा जीवन बिताएका नवराज सिलवाल मंगलबारदेखि नागरिक जीवनमा प्रवेश गरेका छन् । प्रहरीमा अझै ६ महिना सेवा अवधि बाँकी छँदै उनले डीआईजीबाट राजीनामा दिए । राज्यका सम्पूर्ण संयन्त्र एक व्यक्तिविरुद्ध लाग्यो भने कस्तो नियति भोग्नु पर्दो रहेछ भन्ने गतिलो उदाहरण हुन् सिलवाल ।

आईजीपी हुन नसके पनि सिलवाल सजिलै एआईजीपी हुन सक्थे । तर, उनलाई त्यसबाट पनि वञ्चित गरियो । आफूले हालेको रिटका कारण प्रकाश अर्याल आईजीपी बने भने सिलवाल डीआईजीबाटै राजीनामा दिएर घर फर्किनु पर्‍यो । नेपाल प्रहरीको इतिहासमा अदालतमा मुद्दा हालेर पराजित भएपछि राजीनामा दिने पहिलो उदाहरण बनेका छन् सिलवाल ।

सिलवाल साहित्यकार पनि हुन् । उनले थुप्रै कथा, कविता र निवन्ध लेखेका छन् । साहित्य क्षेत्रमा नव सिलवालको परिचय बनाएका सिलवाल अब के गर्लान् ? भन्ने जिज्ञासा सुरु भएको छ । साहित्य, राजनीति वा शैक्षिक क्षेत्रमा क्रियाशील हुन्छन् कि बाँकी जीवन विदेशतिर बिताउँछन् भन्ने केही खुलेको छैन । तर, उनी निकट प्रहरी अधिकृतहरू भने सिलवाल साहित्य र शैक्षिक उन्नयनमा लागिपर्नेछन् ।

ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवालको गोदावरी रेसिडेन्टल स्कुलमा लगानी रहेको छ । अबदेखि उनले पूरै समय सोही स्कुललाई दिने बताइएको छ । गोदावरी रेसिडेन्टल उपत्यकाको राम्रो स्कुलमा पर्छ ।

सिलवालको मुद्दामा सुशीला कार्की पनि पराजित

सिलवाललाई आईजीपी बनाउन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले निकै पहल गरेकी थिइन् । उनीसहितको बृहत् पूर्ण इजलासले सिलवाललाई आईजीपी बनाउन सरकारलाई आदेशसमेत दिएको थियो । डीआईजी बढुवामा सिलवालको कार्यसम्पदान मूल्यांकन नम्बर अगाडि रहेको भन्दै सोही आधारमा आईजीपी बनाउन सरकारलाई आदेश दिइएको थियो ।

तर, मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीसमेत रहेको बृहत् पूर्ण इजलासले कार्कीको फैसलासमेत त्रुटिपूर्ण रहेको ठहर गरेको छ । यसबाट सिलवालसँगै पूर्वप्रधानन्यायाधीश कार्की पनि पराजित भएकी छन् । एउटै प्रकृतिको मुद्दामा दुई प्रधानन्यायाधीशका फरक फरक फैसला आउनुलाई न्याय क्षेत्रमा आश्चर्य मानिएको छ ।

सिलवालमाथि कीर्ते मुद्दा चलाइएला ?

डीआईजीको कार्यसम्पादन मूल्यांकनमा सिलवालले कीर्ते गरेको सरकारको आरोप छ । सरकारमा रहेका कांग्रेस माओवादीका केही नेताहरूले सिलवाललाई कीर्तेमा मुद्दा चलाउनुपर्ने सुझाव दिइरहेका छन् । तर, आफैंले पदबाट राजीनामा दिइसकेपछि उनलाई तत्काल कुनै मुद्दा नचलाइने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *