आयल निगमका निर्देशक खड्का र साझाका महाप्रबन्धक शर्मालाई असोज २ गते हटाइने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्मालाई पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । आगामी असोज २ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा खड्का र शर्मालाई पदबाट हटाइएको निर्णय आउने स्रोतले जनाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा खरिद गरेको जग्गामा करिब डेढ अर्ब भ्रष्टाचार भएको फेला परेपछि सरकारले कार्यकारी निर्देशक खड्कालाई पदबाट हटाउन लागेको हो । आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने तीन दिनअघि नै खड्कालाई कारबाहीको सिफारिस गरी मन्त्रीसमक्ष बुझाइसकेका छन् ।

निगमलाई टेन्डरबाट जग्गा खरिदको स्वीकृति दिने सञ्चालक समितिको अध्यक्षसमेत रहेका सचिव प्रेमकुमार राईलाई हटाएर मन्त्री शिवकुमार मण्डलले देवकोटालाई सचिवमा ल्याएका थिए । सचिव देवकोटाले छोटो समयमै अध्ययन टुंग्याएर निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्नुपर्ने सिफारिस गरेका हुन् ।

आपूर्ति मन्त्रालयले निगम प्रमुखलाई मात्रै कारबाहीको सिफारिस गरेको छ । तर, जग्गा छनोट समितिमा निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई, निर्देशकद्वय रविन शर्मा र विशाल ओझा तथा प्रबन्धक विजयराज सत्याल पनि सामेल छन् । मन्त्रालयले सो समितिलाई समेत कारबाहीको तयारी गर्न लागेको छ । पहिले खड्कालाई सरकारले पदबाट हटाएपछि मात्र निगमका अन्य कर्मचारीमाथि कारबाही प्रक्रिया थाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।

आयल निगमको जग्गा खरिदका बेला आपूर्ति मन्त्री रहेका दीपक बोहरा अहिले विज्ञान तथा प्रविधिमन्त्री छन् । उनी पनि जग्गा खरिद प्रकरणमा मुछिएका छन् ।

यस्तै, साझाका महाप्रबन्धक शर्माले पुस्तक छपाइमा करोडौं अनियमितता गरेको सार्वजनिक भएको छ । साझामा भएको अनियमितताको समाचार बाहिरिएपछि सञ्चालक सदस्यहरू प्रदीप नेपाल, दीनानाथ शर्मालगायतले राजीनामा दिएका छन् ।

शिक्षा मन्त्रालयले शर्मामाथि किन कारबाही नगर्ने भन्दै दुई–दुईपटक स्पष्टीकरण लिइसकेको छ । ‘मन्त्रालयले दुई–दुई पटक स्पष्टीकरण सोध्नु भनेको पदबाट हटाउनकै लागि हो भन्ने बुझ्नु पर्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तीनपटक सोधेपछि मन्त्रिपरिषद् बैठकबाट ठाडै हटाउन मिल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *