भोज भतेर गरेका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । २ नम्बर प्रदेशका आठवटा जिल्लामा आउँदो असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतदान हुँदैछ । सिराहा, सप्तरी, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयनका लागि असोज २ गते मतदान हुन लागेको हो ।

प्रधानमन्त्रीदेखि उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागिरहेको छ । २ नम्बर प्रदेशमा हुने स्थानीय तह चुनावको मात्रै नभएर मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी आचारसंहिता समेत लागू भइसकेको छ । यस अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को विस्तार गर्नेदेखि उम्मेदवारले तडक भडक चुनावी प्रचारप्रसार र भोज भतेर गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागिरहेको छ ।

२ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गरेको प्रमाण फेला पारेमा उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चेतावनी दिएका छन् । २ नम्बर प्रदेशका प्राय सबै जिल्लामा तडक भडक भोज भतेरको सामाजिक सञ्जालमा भिडियो र फोटोहरु सार्वजनिक भएपछि आयोगको आलोचना बढीरहेका बेला यादवले उक्त चेतावनी दिएका हुन् ।

काठमाडौंमा बुधबार एक सार्वजनिक कार्यक्रममा प्रमुख आयुक्त यादवले भने ‘चुनावमा उम्मेदवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरुको उम्मेदवार नै खारेजसम्म गरिदिन्छौं ।’

हालै भएको मन्त्रिपरिषद् विस्तारप्रति आयोगको ध्यानाकर्षकण भएको बताएका उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने जानकारी दिए । उनले भने ‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यती हो ।’

उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने आयोगले प्रधानमन्त्रीलाई कारबाही गर्न नसक्ने बताएर नियम व्यक्ति र पद हेरेर कार्यान्वयन गर्ने आशय प्रमुख आयुक्त यादवको अभिव्यक्तिमा देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *