प्रधानमन्त्री देउवाका १०० दिन, सफलताभन्दा असफलता धेरै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । चौथोपल्ट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकार सञ्चालनको मधुमास (सय दिन) मनाउँदैछन् । यस अवधिमा देउवाले जसभन्दा धेरै अपजस बेहोरेका छन् ।

७१ वर्षे उमेरमा प्रधानमन्त्री बनेका देउवा अनुभव हुँदाहुँदै पनि सरकार सञ्चालनमा किन असफल भए भन्ने विश्लेषण सुरु भएको छ । देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । जेठ २४ गते सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका देउवाले बाँकी मन्त्री नियुक्त गर्न डेढ महिनाभन्दा बढी समय लगाए । प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन उनले सदाचार नीति ल्याउने भनेर घोषणा गरेका थिए । तर, हालसम्म बनाउन सकेका छैनन् ।

सरकार विस्तार गर्न नसक्नुको कारण उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई बनाए । असार १४ गते निर्वाचन भएपछि पनि झन्डै एक महिनापछि सरकार विस्तार गरे । २७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेपछि उनले २२ जना राज्यमन्त्री थपे । पछि राप्रपा प्रजातान्त्रिकका नेता थपेर सरकारको आकार ५४ सदस्यीय बनाए । जुन इतिहासकै सबैभन्दा ठूलो हो । यसबाट उनले धेरै ठूलो आलोचना खेप्नु परिरहेको छ । तैपनि अझै सरकारले पूर्णता पाएको छैन । उनीसँग अझै शान्ति तथा पुनर्निर्माण मन्त्रालय रहेको छ ।

निजी सचिवालयले पूर्णता नपाउने

सरकार मात्र होइन, देउवाले आफ्नै निजी सचिवालयलाई समेत पूर्णता दिन सकेका छैनन् । आफू प्रधानमन्त्री भएपछि उनले केशवराज जोशीलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरे । त्यसपछि आर्थिक सल्लाहकार, विदेश सल्लाहकार नियुक्त गर्न धेरै समय लगाए । उनले गोविन्द परियारलाई प्रेस संयोजक नियुक्त गरेका छन्, तर प्रेस सल्लाहकार अझै खाली राखेका छन् । आफ्नै भतिजा भानु देउवालाई प्रमुख स्वकीय सचिव नियुक्त गर्न पनि उनले दुई महिना बढी समय लगाए ।

देउवाले आफ्नो विदेश र आर्थिक सल्लाहकारमा कोइराला पक्षका दिनेश भट्टराई र ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेका छन् । आर्थिक सल्लाहकारमा पूर्वसचिव कृष्ण ज्ञवालीको चर्चा धेरै थियो ।

प्रधानमन्त्रीको निजी सचिवालयमा सयभन्दा बढीलाई नियुक्ति दिन सकिन्छ । जुन सरकारले नै व्यवस्था गरेको छ । तर, उनले पाँचजना भन्दा बढीलाई नियुक्त गर्न सकेका छैनन् । सबैभन्दा लथालिंग प्रधानमन्त्रीको निजी सचिवालय छ । कसले के काम गर्ने भन्ने कसैले भेउ पाउन नसकेको बताइन्छ । प्रधानमन्त्रीको निजी सचिवालयलाई पूर्णता नदिई उनी बिदा हुने स्रोतले बताएको छ ।

सय दिने सरकारको उपलब्धि सार्वजनिक नगरिने

प्रधानमन्त्रीको निजी सचिवालय कतिसम्म भद्रगोल छ भने सरकार गठन भएको सय दिने उपलब्धिका कार्यक्रम ल्याउने कि नल्याउने भन्ने अत्तोपत्तो छैन । यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत गृहकार्य नगरेको बताइन्छ । कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेका छैनन् ।

देउवा सरकारको एक मात्र सफलता

देउवा सरकारले यो सय दिनमा केही नगरेको भन्ने चाहिँ होइन । संविधान कार्यान्वयनमा देउवा सरकारले ठूलो सफलता पाएको छ । संविधान जारी भएदेखि त्यसलाई अस्वीकार गर्दै पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी नभएका मधेसवादी दललाई सहमतिमा ल्याएर तेस्रो चरणको स्थानीय निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्न देउवा सरकार सफल भएको छ । यो नै देउवा सरकारको ठूलो उपलब्धि हो ।

त्यस्तै, माओवादी केन्द्रलाई एमालेबाट टाढै राख्न अहिलेसम्म प्रधानमन्त्री देउवा सफल भएका छन् । यदि केपी ओली र प्रचण्डको गठबन्धन नटुटाएको भए देउवा आफू प्रधानमन्त्री मात्र होइन, संविधान कार्यान्वयन गराउन पनि असफल हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *