केपी ओली शुक्रबार बर्दिवास जाँदै, चुनावी सभामा सहभागी हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । एमाले अध्यक्ष केपी ओली शुक्रबार महोत्तरीको बर्दिवास जाने भएका छन् । प्रदेश नम्बर २ को चुनावी सभामा नदेखिएको भन्दै सर्वत्र टीकाटिप्पणी हुन थालेपछि ओली शुक्रबार मधेस झर्न लागेको बालकोट स्रोतले बतायो ।

ओलीले शुक्रबार दिउँसो बर्दिवास नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । सम्बोधन गरेलगत्तै उनी काठमाडौं फर्कनेछन् । ओलीलाई जनकपुर र बर्दिवास लाने पार्टी नेताहरूको तयारी थियो । तर, जनकपुर लैजाँदा स्थिति भड्किन सक्ने अनुमानपछि बर्दिवास मात्र बोलाइएको र त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी राजी भएका छन् ।

एक वर्षअघि सप्तरीको राजविराजमा मेची महाकाली अभियानमा जाँदा भएको झडपमा तीनजनाको मृत्युपछि एमाले सतर्क भएको हो । त्यसपछि ओलीलाई प्रदेश नम्बर २ का जिल्लामा सहभागी गराउन प्रतिबन्ध जस्तै लगाइएको छ । स्वास्थ्य स्थितिमा साधारण समस्या देखिएकाले ओली निवासमै आराम गरिरहेका छन् ।

बर्दिवास नगरपालिका मेयरमा एमालेबाट सुरेश राउत उठेका छन् । पुरानी नायिका वर्षा राउतका बाबु हुन् सुरेश । बर्दिवासमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । कांग्रेसबाट प्रह्लाद क्षेत्री मेयरका उम्मेदवार छन् ।

नेपाल र पोखरेल प्रदेश २ का कमान्डर

एमालेले प्रदेश नम्बर २ को कमान्डरमा नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललाई खटाएको छ । सर्लाहीदेखि रौतहट, बारा र पर्सासम्म नेपालले हेर्छन् भने महोत्तरी, धनुषा, सिरहा र सप्तरी पोखरेल खटिएका छन् । यतिखेर पोखरेलले जनकपुरलाई केन्द्र बनाएका छन् । नेता नेपाल भने गौरमै धेरै समय बस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *