‘खेतबारी मासेर अलैंची लगाइयो, भाउ भने पाइएन’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरिता राई

भोजपुर, १८ कार्तिक । मुख्य आम्दानीको श्रोतकारुपमा रहेको अलैंचीको मूल्य नपाएपछि यहाँका किसानहरु चिन्तित बनेका छन् । अलैंचीबाट राम्रो आम्दानी गर्न सकिने भन्दै खेतबारी मासेर अलैंची खेती गरेका किसानहरु पछिल्लो समय भाउ नपाउँदा निराश बनेका हुन् । विगतका बर्षहरुको तुलनामा यो बर्ष ६० प्रतिशत मूल्यमा गिरावट आएको किसानहरु बताउँछन् ।

केही बर्ष यता अलैंचीको मूल्य निकै उच्च थियो । केही बर्ष अघि त प्रतिमन एक लाख २० हजार समेत पुगेको थियो । अलैँचीको भाउ गएको वर्षबाट भने निकै तल झरेको छ । गएको वर्ष ४५ देखि ५० हजार प्रतिमनमा किनवेच भएको अलैँची यो वर्ष २५ देखि ४० हजार प्रतिमनले किनवेच भइरहेको अलैची गुप्तेश्वरका किसान तिलकबहादुर राउतले बताए । ‘केही बर्ष अघि अलैंचीको राम्रो मूल्य थियो । अलैंचीबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर खेतबारी मासेर लगाइयो,’ उनले भने, ‘गतबर्ष देखि भाउ घटेपछि हामी निराश बनेका छौं ।’

केहीवर्ष यता किसानहरुले खेतबारी मासेरै अलैंचि रोप्न थालेका थिए । बैदेशिक रोजगारीका निम्ति गाउँबाट युवाहरुको पलायनले जनशक्ति अभाव, सिंचाईंको असुविधा, व्यवसायिक ज्ञानको कमीले गर्दा खेतबारी बाँझिदै गएको बेला किसानहरु अलैंचि खेतीतर्फ  किसानको आकर्षण बढेको थियो । केहीवर्ष अघिसम्म जिल्लामा तीन सय १८ हेक्टर जमिनमा अलैंचि उत्पादन हुने गरेको तथ्यांक रहेपनि कृषि विकास कार्यालयको तथ्यांकमा बर्षेनी यसको संख्या बढ्दै गएको छ ।

जल्ला कृषि विकास कार्यालय भोजपुरको तथ्यांक अनुसार आर्थिक वर्ष ७०/७१ मा ३ सय ६० हेक्टर क्षेत्रमा १ सय ९० मेट्रीक टन अलैचि उत्पादन भएको थियो । भने गएको वर्ष भोजपुरमा १ सय ८८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । बजारमा चलेको मुल्य अनुसार २३ करोडको अलैँची कारोबार भएको थियो ।

अलैंचीको किनबेच असोजबाटै सुरु भएको छ । ‘बर्षभरी मेहनत गरेर उत्पादन गरेको अलैंचीको उचित मूल्य छैन । बिक्री गर्ने की नगर्ने भन्ने दोधारमा छौं,’ बोयाका एक कृषक ध्यानबहादुर तामाङ्गले भने ।

भोजपुरको कुलुङ्ग, दोभाने, कुदाककाउले, साम्पाङ्ग, छिनामखु, किमालुङ, तिम्मा हेलौंछा, बोखिम, गुप्तेश्वर, सिद्धेश्वर, खावा लगायतका ठाँउमा अलैंची उत्पादन हुने गरेको छ । भोजपुरमा रामशाही, गोलशाही, डम्वर शाही, जिर्मले जातको अलँैची उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *