भोजपुरमा उमेशजंग भर्सेस सुदन : आपराधिक घटनामा जोडिएका माओवादीका सुदनलाई एमालेको भर र डर दुवै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर, १९ कात्तिक । एमालेको गढ तर माओवादीबाट प्रतिनिधिसभाका उम्मेदवार बनेकाले भोजपुर जिल्ला अहिले निकै चर्चामा छ । आगामी मंसिर १० गते हुने निर्वाचनमा कांग्रेसबाट उमेशजंग रायमाझी र माओवादी केन्द्रबाट सुदन किराँती उम्मेदवार बनेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा किराँती कांग्रेसका उम्मेदवार रायमाझीभन्दा करिब १२ हजार मतले अगाडि देखिन्छन् । तर, कांग्रेस र माओवादीको उम्मेदवारमध्ये एक रोज्नुपर्ने हुँदा मतदाताले कसलाई रोज्लान् भन्ने अहिले नै भन्न सकिन्न । किनकि भोजपुरमा माओवादीको मत तेस्रो छ ।

कांग्रेस संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । यहाँ प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई गरी जम्मा तीन सिट छन् । यी तीन सिटमध्ये प्रतिनिधिसभा सदस्यका लागि भने रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

उमेश भर्सेस सुदन

पञ्चायतकालविरुद्धको आन्दोलनमा कलिलै उमेरमा होमिएका रायामाझी र हत्या हिंसाको राजनीतिबाट उदाएका सुदनबीच कसले बाजी मार्ला भन्ने बहस अहिले जिल्लामा सुरु भएको छ । नेविसंघबाट पञ्चायती व्यवस्थाविरुद्ध सशक्त ढंगले लागेका रायमाझी कांग्रेसमा चर्चित युवा मानिन्छन् । नेविसंघको महामन्त्री भएर पार्टीका कार्यक्रममा भाषण गर्दा सहभागीहरू नै जुुरुक जुरुक हुने गर्थे । यसपालि कांग्रेसले तिनै जुझारु रायमाझीलाई टिकट दिएको छ । रायामाझी राजनीतिक रूपमा अनुभवी र व्यावहारिक मानिन्छन् ।

तर माओवादीका सुदन अवसर पाएर पनि राजनीतिमा निकै आलाकाँचा मानिन्छन् । उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् । ०६४ मा भएको संविधानसभा निर्वाचनमा उनी तत्कालीन क्षेत्र नम्बर २ (हाल प्रदेशसभा ख) बाट निर्वाचित भएका थिए । ०७० मा टिकट पाए पनि उनी एमालेका शेरधन राईसँग पराजित भए ।

उनले फेरि एकपटक निर्वाचन लड्ने अवसर भएका छन् । बाम गठबन्धनले गरेको सिट बाँडफाँटका आधारमा एकैचोटि माथिल्लो स्तरका पदमा भिड्ने अवसर पाएको हुन् । शेरधनले हराएको व्यक्तिलाई अहिले काँधमा बोकेर हिँड्नुपर्दा एमालेका अधिकांश मतदाता बेखुसी छन् । एमालेका कार्यकर्ता भने पार्टीको निर्देशन मान्नै पर्ने भएको भन्दै मन नलागी नलागी चुनाव प्रचारमा हिँडेका छन् ।

पहिले एमालेविरुद्ध, अहिले उसैको शरणमा

राजनीतिक इतिहास हेर्ने हो भने एमालेलाई मुख्य शत्रु मान्दै आएका सुदन यतिबेला उसैको काखमा शरण माग्न आइपुगेको अवस्था छ । ६ महिनाअघिसम्म आठ दल एमालेविरुद्ध एक भएका थिए । त्यो समय एमालेविरुद्ध बनाइएको आठ दलीय मोर्चामा सुदन संयोजक थिए । एमालेविरुद्धको अभियान सञ्चालन गरेको कारण अहिले पनि एमाले कार्यकर्ता र मतदाता उनीसँग रुष्ट छन् । एमाले नेता कार्यकर्तालाई दुःख दिने र कुटपिट गर्ने काममा किरातीले अगुवाइ गरेका थिए । आठ दलको मोर्चा बनाएर एमालेविरुद्ध लक्षित गतिविधि गरेका सुदन किराती बाम गठबन्धनअनुसार एमाले माओवादी केन्द्रको संयुक्त उम्मेदवार बनेपछि धेरै एमालेका कार्यकर्ता चिढिएका छन् ।

निष्ठा र अराजकताबीचको भिडन्त

रायामाझी र किरातीको राजनीतिक छवि र पृष्ठभूमि निकै फरक छ । रायामाझीलाई निष्ठाको राजनीति गर्ने नेताको रूपमा चित्रित गरिन्छ । उनी अहिलेसम्म कुनै पनि विवादमा फसेका छैनन् । विद्यार्थी जीवनमा पञ्चायतविरुद्ध आन्दोलनमा होमिँदा उनी थुप्रैपटक गिरफ्तार भएका थिए । कमै अवसर पाएका उनी निडर र हकी स्वभावका मानिन्छन् । उनी अवसर नपाउँदा पनि राजनीतिमा निरन्तर लागिरहेका व्यक्ति हुन् ।
किराती माओवादी युद्धबाट उदाएका नेता हुन् । भोजपुरलाई भ्रष्टचारमुक्त बनाउने भन्दै ‘भोजपुर सफा अभियान’ चलाएका किरातीले कर्मचारीलाई डर धम्की दिएर पैसा मागेको र नदिनेलाई विस्थापितसमेत गराएका थिए । माओवादीसँग जोडिएका धेरै आपराधिक क्रियाकलापका घटनामा उनको नाम जोडिएको छ ।

कसले मार्ला बाजी ?

एमाले विरुद्ध खनिएका उनी यसपटक उसैको भरमा चुनाव लड्दैछन् । एमाले कार्यकर्ताले इमान्दार भएर मत हाले उनले जित्ने देखिन्छ । अघिल्ला निर्वाचनका मत परिणामलाई हेर्दा रायामाझी प्रभावशाली र आटिला राजनीतिज्ञ भएपनि बाम एमालेको मत पाउँदा उनी अघि हुने देखिन्छ ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनको मत परिणाम र स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने बाम गठबन्धन अघि छ । ०७० को निर्वाचनमा बाम गठबन्धनले ३४ हजार ३८८ मत ल्याएको छ । लोकतान्त्रिक गठबन्धनको २२ हजार ५५० मत छ । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा उठेका सुदन ११ हजार ८३७ मतले अगाडि देखिन्छन् ।

यसैगरी नौवटा स्थानीय तहमा भएको निर्वाचनमा कांग्रेसले चार तह, एमालेले चार र माओवादीले एक तह जितेका थिए । कांग्रेसले चार तह जितेको भए पनि थुप्रै वडामा हार व्यहोरेको छ । एमालेले चार तह मात्रै जित्न सकेको थुप्रै वडा जितेको छ । यसका आधारमा पनि किराती नै अघि देखिन्छन् ।

मतदातामा नकारात्मक छवि

माओवादी द्वन्द्व र त्यसयताका समयमा सुदनले देखाएको क्रुर व्यवहार जनताले भुल्न सकेका छैनन् । उनको उम्मेदवारीलाई मतदाताले सकारात्मक लिएका छैनन् । यसपटक उही एमालेको छत्रछायाँमा परेर ०७० सालको नतिजा उल्टाउने दाउमा उनी छन् । बाम गठबन्धनअनुसार सुदन किरातीलाई भोट हाल्नुपर्ने एमाले कार्यकर्तालाई अहिले बाध्यकारी अवस्था भए पनि मतदाताले स्वविवेक प्रयोग गर्छन् । किराँतीले टिकट पाएपछि चिन्तित बनेका एमाले कार्यकर्ताले कसलाई मत दिन्छन्, त्यसैमा रायमाझी र किराँतीको जित निश्चित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *