चीनको प्रमुख नाका रसुवाको निर्वाचनमा ४० करोडसम्म खर्च गर्दै उम्मेदवार

  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

रसुवा, २८ कात्तिक । तातोपानी नाका बन्द भएपछि विगत दुई वर्षदेखि रसुवा जिल्ला चीनसँगको प्रमुख नाका बनेको छ । चीनले अबको दुई वर्षभित्र केरुङसम्म रेल ल्याउने भएको छ । केरुङ हुँदै रसुवागढीबाट नेपालमा रेल ल्याउने विषयमा चीन सरकारले पठाएको प्रतिनिधिमण्डल अध्ययन गरी फर्किसकेको छ ।

त्यसैले रसुवा अहिले निकै चर्चामा छ । त्यसमा पनि हाइड्रोपावर धेरै भएकाले पनि दुर्गम भए पनि रसुवा सबैको चासो बनेको छ । थोरै जनसंख्या, तर आर्थिक आम्दानीका धेरै सम्भावना बोकेकाले पनि यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलले रसुवालाई बढी नै चासो दिएका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले १३ हजार ८५७, कांग्रेसले १० हजार ७६० मत पाएका छन् । त्यस्तै, माओवादीले ६ हजार १३५ र नयाँ शक्तिले चार हजार २४१ मत पाएका छन् । यस आधारमा वामपन्थी गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धन करिब चार हजार मतले पछाडि देखिन्छ ।

राजधानीनजिकै रहेको विकट हिमाली जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । माथिल्लो हिमाली क्षेत्रमा तामाङ र तल्लो तटीय क्षेत्रमा खस आर्यको बसोबास रहेको रसुवामा प्रतिनिधिसभातर्फ दुवै गठबन्धनले खसआर्य उम्मेदवार बनाएका छन् ।

प्रतिनिधिसभामा वामपन्थी गठबन्धनबाट एमालेका निवर्तमान सांसद जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नयाँ अनुहार मोहन आचार्यबीच टक्कर हुने आंकलन गरिएको छ । दुवैजना निर्माण व्यवसायी (ठेकेदार) हुन् । दुवैसँग प्रशस्त पैसा छ । स्रोतका अनुसार आचार्य र ढकालले निर्वाचनमा आफू विजयी हुन ४० करोड रुपैयाँसम्म खर्च गर्न तयार रहेको भन्दै बजेट छुट्याएका छन् ।

ढकाल ०७० सालमा चुनाव जित्दा मोहन आचार्यले पनि सहयोग गरेका थिए । यसपटक आचार्य आफैं राजनीतिमा होमिएकाले ढकाल निकै अप्ठेरोमा परेको बताइन्छ । आचार्य कांग्रेस राजनीतिमा चिनिएका अनुहार नभए पनि इन्जिनियर र बौद्धिक भएकाले सबैको प्रिय छन् । उनी राप्रपाका नेता रामकृष्ण आचार्यका भतिजा हुन् ।

‘क’ श्रेणीको रसुवा कन्सट्रक्सन कम्पनीका मालिक आचार्यले कांग्रेसको सांगठानिक आधारभन्दा पनि आर्थिक परिचालनबाट चुनाव जित्ने अपेक्षा गरेका छन् । तर, रसुवामा कांग्रेसको मत पनि एमालेसँग बराबर जस्तै रहेकाले उनलाई अलिक सहज भएको बताइएको छ ।
‘क’ श्रेणीकै सूर्य–चन्द्र कन्सट्रक्सनका मालिक हुन् ढकाल । ०७० सालको चुनावमा राम्रो मतान्तरमा जितेका ढकाललाई यसपटक माओवादीको पनि साथ छ । भूकम्पका बेला सांसदको हैसियतमा उनले गरेको काम र केरुङ नाका खुलाउन गरेको उनले पहल गरेका थिए ।

स्थानीय तहमा कसको कति मत ?

हिमाली जिल्ला रसुवामा पाँचवटा गाउँपालिका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले दुई, कांग्रेसले दुई र नयाँ शक्तिले एउटा स्थानीय तहको प्रमुख जितेका छन् । यसरी जोड्दा वामपन्थी गठबन्धनको मत करिब १९ हजार हुन्छ भने लोकतान्त्रिक गठबन्धनको मत करिब १५ हजार हुन्छ । तर, मोहन आचार्यको स्रोतसाधन र नयाँ शक्तिका नेता प्रेम तामाङको व्यक्तिगत पकड र पहुँचका आधारमा यो मतान्तर घटाएर चुनाव जित्ने लक्ष्य कांग्रेसले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *