गृह मन्त्रालय नेतृत्वविहीन हुँदा विप्लव पार्टीको निशानामा उम्मेदवार, चुनाव बिथोल्ने ‘टार्गेट’

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौं, २९ कात्तिक । २०५६ सालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला आमनिर्वाचन घोषणा भयो । प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । माओवादीले मुलुकभर सुरु गरेको हत्या, हिंसा र तोडफोडले अर्बाैंको सम्पत्ति नोक्सानी भएको थियो । यही बेला एमाले विभाजन भएको थियो ।

मुलुकभर माओवादी सशस्त्र द्वन्द्वको प्रभाव भए पनि चुनावी माहोल ह्वात्तै बढेको थियो । तत्कालीन माओवादी कार्यकर्ताले कहीँ कतै चुनावी सभा अवरोध गर्ने, बिथोल्ने प्रयास गरे पनि उम्मेदवारमाथि टार्गेट गरेर आक्रमण गरेका थिएनन् ।

त्यतिखेरको माओवादी अहिले सरकार र सडक दुवैमा छ । र, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । तर, हिजो कांग्रेस र एमालेका नेता कार्यकर्तामाथि आक्रमण र हत्या गर्ने माओवादी पार्टीकै नेता अहिले असुरक्षित भएका छन् । उनीहरू हिजो एउटै पार्टीमा रहेर राजनीति गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निशानामा परेका छन् ।

एक सातायता विप्लव पार्टीको निशानामा माओवादी केन्द्र मात्रै होइन, एमाले र कांग्रेस उम्मेदवार पनि पनि परेका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माबाट सुरु भएको बम आक्रमण कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजासम्म आइपुगेको छ । यसबीचमा उनीहरूले रोल्पामै माओवादी नेता एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनमाथि दुईपटक आक्रमण गरे । दुवैपटक पुनलाई केही भएन ।

मंगलबार भोजपुरमा एमाले नेता शेरधन राई र संखुवासभामा एमालेकै उम्मेदवार राजेन्द्र गौतममाथि बम आक्रमण गरेर विप्लव पार्टीले आफूहरू जुनसुकै अवस्थामा निर्वाचन बिथोल्न सक्षम छौं भन्ने सन्देश दिन खोजेको देखिन्छ । उनीहरूले उम्मेदवारमाथि भौतिक आक्रमण भने गरेका छैनन् । उनीहरू हिँडेको बाटोमा विद्युतीय धराप (एम्बुस) थाप्ने, बाटो कटिसकेपछि बम विस्फोट गराएर आतंक र भय त्रास सिर्जना गर्ने काम भइरहेको छ ।

गृह मन्त्रालय यतिखेर नेतृत्वविहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृह मन्त्रालय सम्हालिरहेका छन् । उनी निर्वाचनको समयसम्म कसैलाई गृहमन्त्री नदिने पक्षमा रहेको स्रोतले बतायो । यही मौका पारेर केही समयपछि विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामा पनि बम आक्रमणको आतंक सिर्जना गर्न सक्ने सूचना प्रहरीको इन्टेलिजेन्स ब्युरोले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *