बुढीगण्डकी निर्माणको सम्झौता खारेज भएकोमा एमाले र माओवादी केन्द्र आक्रोशित, भने जति चन्दा नपाएपछि खारेज : ओली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । सरकारले बुढीगण्डकी निर्माणको सम्झौता खारेज गरेकोमा सरकारको चर्को आलोचना गरेका छन् । चिनियाँ ठेकेदार कम्पनी गेजुवालाई विना प्रतिस्पर्धा निर्माणको ठेक्का दिइएको भन्दै सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसम्झौता खारेज गरी नयाँ ग्लोबल टेन्डर आह्वानको तयारी गरेको छ ।

सम्झौता खारेज भएको तीन दिनपछि एमाले र माओवादी केन्द्रले औपचारिक रूपमा मुख खोलेका हुन् । एमाले अध्यक्ष केपी ओलीले सरकारलाई चुनावमा भने जति चन्दा नदिएकाले सम्झौता खारेज गरेको आरोप लगाएका छन् । उनले यही सरकारले सम्झौता गरेको भन्दै अहिले फेरि किन खारेज गरेको भन्दै आक्रोश पोखे । काठमाडौं उपत्यकाबाट वाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रममा ओलीले सरकारको आलोचना गरेका हुन् । उनले सम्झौता रद्द गर्ने अधिकार यो सरकारलाई नभएको बताए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्ड पनि बुढीगण्डकी निर्माण सम्झौता खारेज गरेकोमा सरकारको आलोचनामा उत्रेका छन् । उनले पूर्वाग्रही ढंगले सरकारले सम्झौता खारेज गरेको आरोप लगाए । यो सरकारमा माओवादी केन्द्र पनि सहभागी छ ।

प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले १२ सय मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना विना प्रतिस्पर्धा गेजुवा कम्पनीलाई निर्माण गर्ने सम्झौता गरेको थियो । त्यसबेला सो सम्झौता हुँदा माओवादीले चार अर्ब रुपैयाँ कमिसन लिएको आरोप लाग्दै आएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय गौरवको आयोजना निर्माण प्रभावित हुने गरी सम्झौता खारेज गरेको भन्दै एमाले र माओवादी केन्द्र विरोधमा उत्रेपछि आयोजना चेपुवामा परेको छ । बुधबार मात्रै कांग्रेस नेतृ सुजाता कोइरालाले गेजुवासँगको सम्झौता खारेज गर्ने सरकारको निर्णयको विरोध जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *