चुडामणि शर्मा, गोपाल खड्का, विश्वराज पाण्डे हालसम्मका अख्तियारको ‘हाई प्रोफाइल’ भ्रष्टाचारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएका बेला भ्रष्टाचारमा संलग्न तल्लोस्तरका कर्मचारीलाई मात्र समात्ने गरेको आरोप लागेको थियो । त्यसको जवाफ दिँदै, अख्तियारले पत्रकार सम्मेलन नै गरेर चाँडै ‘ठूला माछा समात्ने’ जानकारी गरायो । तर, अहिलेसम्म अख्तियारले भ्रष्टाचारमा संलग्न ‘ठूला माछा’ लाई समात्न सकेको छैन ।

अख्तियारको अहिलेसम्मको ‘हाई प्रोफाइल’ कर्मचारीमा सम्पत्ति शुद्धीकरणका महानिर्देशक चुडामणि शर्मा, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे देखिएका छन् । जो अहिले अख्तियारको छानबिनमा परेका छन् ।

हुन त यसअघि अख्तियारले अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि पनि अनुसन्धान सुरु गरेको थियो । तर, राजनीतिक सोर्सफोर्सका आधारमा अख्तियारले उनको मुद्दा मुल्तवीमा राखेको छ । भ्रष्टाचार मुद्दा मुल्तवीमा राखेसँगै राप्रपा अध्यक्ष कमल थापाले भाइ गणेशलाई सांसद बनाएका थिए ।

अख्तियारले एक हजार बढी व्यावसायिक फर्महरूको भ्याट छलीमा २० अर्बभन्दा बढी राजस्वमा उन्मुक्ति दिएको भन्दै अख्तियारले उनलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको थियो । तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल पनि सो कर छलीमा संलग्न रहेको आरोप लागेको छ । अख्तियारले दुवैमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बिगोदाबीसहितको मुद्दा विचाराधीन छ । महत र ढकाल सदरखोरमा न्यायिक हिरासतमा छन् ।

लामो समयदेखि फरार रहेका उनीहरू बुधबार अदालतमा उपस्थित भएका छन् । बयानका लागि नआएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई असार ८ गते एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

यसैगरी, नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारगृहका लागि भएको जग्गा खरिदमा डेढ अर्ब भ्रष्टाचार गरेको आरोपमा सरकारले कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गरेको थियो । उनलाई पदबाट हटाए पनि सर्वोच्च अदालतको आदेशसँगै उनी निगममा पुनर्बहाली भए पनि खड्कालाई आपूर्ति मन्त्रालय तानिएको छ । उनीमाथि चाँडै अख्तियारले भ्रष्टाचार मुद्दामा छानबनि अघि बढाउने भएको छ ।

बुधबार मात्रै १० लाख घुस प्रकरणमा अख्तियारले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको थियो । अख्तियारले केही समययता निकै प्रयोग गर्दै आएको स्टिंग अपरेसन भनिने गोप्य सूचनाका आधारमा रंगेहात पक्राउ गर्ने कारबाहीअन्तर्गत मंगलबार विभागका दुई कर्मचारीलाई उसैले उपलब्ध गराएको दस लाख रुपैयाँ घूस लिएपछि सो रकमसहित पक्राउ गरेको थियो ।

त्यसमा विभागका महानिर्देशक पाण्डेसमेत सामेल रहेको देखिएको भन्दै उसले बुधबार बिहानै पाण्डेलाई पनि आफ्नो नियन्त्रणमा लियो । उनीहरूमाथि बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

नेपालमा सबभन्दा धेरै गैरकानूनी आर्थिक लेनदेन र भ्रष्टाचार हुने सरकारी कार्यालयहरुमा मालपोत र नापी कार्यालयहरु पर्ने भए पनि अनुपातमा हेर्दा वैदेशिक रोजगार विभाग पनि निकै माथि रहेको आयोगका अधिकारीले बताएका छन् ।

अख्तियारले अहिलेसम्म पक्राउ गरेका यी ‘हाई प्रोफाइल’ ले आफू छुट्नका लागि प्रमुख दलका नेतालाई च्यापिरहेका छन् । उनीहरूले यसका लागि करोडौं रुपैयाँ खर्च गर्न तयार रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *