अख्तियारले थाल्यो उच्च सरकारी कर्मचारीमाथि छानबिन, २५ जनामाथि अनुसन्धान, को को पर्दैछन् फन्दामा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा एक सय बढी सरकारी कर्मचारीहरूमाथि अनुसन्धान सुरु गरेको छ । तीमध्ये सोमबारदेखि २५ कर्मचारीविरुद्ध छानबिन अघि बढाएको छ ।

अनुसन्धानको दायरामा आउनेमा सरकारका विभिन्न निकायमा कार्यरत सचिवदेखि अधिकृतहरू रहेको अख्तियार स्रोतले जनाएको छ । राज्यस्रोतको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा परेका कर्मचारीको बैंक खाता, जग्गा जमिनलगायत सम्पत्ति रोक्का गरिसकेको आयोगले जनाएको छ ।

अब केही दिनमै उनीहरूलाई विस्तृत सम्पत्ति विवरण खुल्ने १३ पन्ने फारम भराइने भएको छ ।  अनुसन्धानमा तानिएका कर्मचारीमा चिलिमे जलविद्युत आयोजनाका कार्यकारी प्रमुख दामोदरभक्त श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, कृषि सामग्री कम्पनी लिमिटेडका वरिष्ठ अधिकृत अच्युत पौडेल, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, आन्तरिक राजस्व विभागका शाखा अधिकृतहरू रमेश भट्टराई, शिवचन्द्र पन्त, झमिन्द्र पोखरेललगायत छन् । यस्तै, सडक विभागका सिनियर डिभिजिनल इञ्जिनियरहरू ज्ञानेन्द्रकुमार झा र दण्डपाणि पौडेलविरुद्ध पनि अख्तियारले छानबिन थालेको छ ।

१३ पन्ने विवरणमा आरोपित व्यक्तिको सम्पूर्ण परिवार, उसको माइती वा ससुराली, साला सालीदेखि सम्भावित नजिकका सबै आफन्तको नाममा रहेको सम्पत्ति र सम्पत्तिको स्रोतहरू भर्न लगाइनेछ । त्यसपछि त्यही आधारमा आयोगले उसको आर्जन गरेको सम्पत्तिकै वैधता अनुुसन्धान गरी थप कारबाही गर्नेछ ।

यसअघि अख्तियारले बहालवाला सचिवहरू अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुर, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र नेपाल प्रहरीका दुई डीएसपीविरुद्ध अकुत सम्पत्तिमा अनुसन्धान अघि बढाएको थियो । अख्तियारले अकूत सम्पत्ति कमाएको आरोपमा पहिलो चरणको अनुसन्धानमा कम्तीमा एक सयभन्दा बढी निजामती कर्मचारीको सूची तयार गरेको छ । उनीहरूमध्ये केही सचिव, सहसचिव तथा उपसचिव छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *