मिडियामै लागेको मान्छे भएकाले रवीन्द्र मिश्रमाथि बढी टार्गेट भयो : उज्ज्वल थापा (भिडियो)

हामी भोट माग्न होइन, मतदाताकहाँ उहाँहरूका गुनासो सुन्न गएका छौं
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ सबैभन्दा बढी चर्चामा छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र चुनावी मैदानमा उत्रेकाले यसले बढी चर्चा पाएको हो ।तर, विवेकशील साझा पार्टीकै अर्का संयोजक उज्ज्वल थापाको भने धेरै चर्चा भएको पाइँदैन । उनी काठमाडौं ५ बाट कांग्रेसका डा.प्रकाशशरण महत र एमाले महासचिव ईश्वर पोखरेलविरुद्ध प्रतिस्पर्धामा छन् । चुनावी प्रचारमा थापालाई महत र पोखरेलले धेरै पछाडि छाडेका छन् ।

तैपनि उनी भन्छन्, ‘हाम्रो प्रचार अभियान अरुको जस्तो तडक भडक छैन, हामी भोट माग्न होइन, मतदाताकहाँ उहाँहरूका गुनासो सुन्न गएका छौं, सुन्ने अभियान हो हाम्रो । उहाँका गुनासो सुनेर धन्यवाद दिएर हिँड्छौं ।’ चुनाव प्रचार प्रसारमा पुरानो शैली अपनाउँदा धेरै खर्च हुने भएकाले सामाजिक सञ्जाल प्रयोग गरेको उनको भनाइ छ ।

‘अहिले नेपालीहरू ८० लाखदेखि एक करोडसम्म फेसबुकमा आबद्ध छन्, त्यही भएर थोरै खर्चमा आफ्ना धेरै कुरा जनताकहाँ पु¥याउन सकिन्छ । यही कारण हामीले फेसबुक र ट्विटर बढी प्रयोग गरेका हौं,’ उनले मिडिया एनपीसँग भने ।

काठमाडौं ५ मा बोल्नेभन्दा काम गर्ने नेतालाई जनताले खोजेको उनको भनाइ छ । ‘म यही काठमाडौंमा जन्मे हुर्कें । बुढानिलकन्ठमा पढें । यहीँबाट आइटी अध्ययन गरे । उद्यमशीलतालाई अगाडि बढाएको छु,’ थापाले भने, ‘भूकम्पमा गरेको उद्धार र समाजसेवा, लोकमानसिंह कार्कीविरुद्ध सडक आन्दोलन, गोविन्द केसीको पक्षमा हामीले गरेको कामको मूल्यांकन गरी जनताले हामीलाई मत दिन्छन् ।’

उनले काठमाडौं ५ मा कोही पनि ‘हेभिवेट’ नेता नभएको बताए । ‘दिपक मनांगे र गणेश लामालाई पार्टी भित्र्याउने हेभिवेट नेता नै हुन सक्दैनन्,’ थापाले भने ।

उनले आफूभन्दा रवीन्द्र मिश्रको बढी चर्चा हुनुमा मिडियाकर्मी भएकाले हुन सक्ने बताए । ‘मिडियामै लागेको मान्छे भएकाले रवीन्द्र मिश्रमाथि इन्टेन्सन बढी भएको हो कि भन्ने लाग्छ,’ उनले भने । थापाले विवेकशील साझाले देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा १५९ जना उम्मेदवार उठाएको र ती सबै सक्षम रहेको दाबीसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *