चियाखेतीतर्फ आकर्षित हुँदै किसान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम, २ मंसिर ।  इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्ने मानसिकता थियो, त्यतिबेला उहाँमा ।

“त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” खत्रीले भन्नुभयो “आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”

चियाखेतीबाट आम्दानी पनि लिन सकिन्छ भन्ने कुरा थाहा नपाएकी खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, तर हामी बिक्री गर्दैनथ्यौँ,” उहाँले भन्नुभयो ।

थोरै बारीमा मात्रै परम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन÷चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” खत्रीले भन्नुभयो “हामी त्यति बेला घाममा मात्र चिया सुकाउँथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउँथ्यौँ ।”

घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आउनुभयो । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उहाँ सदरमुकाम आउनुभएको हो ।

“त्यतिबेला रु दुई हजार पुरस्कार पाए,” उहाँले विगत सम्झनुभयो “त्यसले थप हौसला बढायो ।” खत्रीको अहिले आफ्नो र भाडामा गरी ९०० रोपनी जग्गामा चियाखेती छ । चिया बगानसँगै उहाँकै चिया प्रशोधन गर्ने उद्योग पनि छ । त्यही चियाबाट अहिले वार्षिक रु तीन लाखदेखि रु चार लाख नाफा हुन्छ ।

उहाँको चिया प्रशोधन उद्योग हेर्न छिमेकी जिल्ला र गाउँघरबाट किसान आउँछन् । अहिले खत्रीले उत्पादन गरेको चिया विदेशमा समेत निर्यात हुन्छ । उहाँले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध खत्रीले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ ।

यस्तै, सूर्योदय नगरपालिकाका चिया कृषक काजीमान कागतेले २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गर्नुभयो । शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गरेका कागतेले चियाको माग बढ्दै गएपछि खेती विस्तार गर्नुभयो । हाल ८० रोपनी जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन हुन्छ ।

“चियाबाट मनग्य आम्दानी हुन्छ । चियाले नै परिवार पालेको छुँ” कागतेले भन्नुभयो “अहिले व्यावसायिक चियाखेती बढेपछि त अझै राम्रो खेती हुन थालेको छ ।” झुल्के घाम लघु चिया उद्योगका सदस्यसमेत रहनुभएका कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाख लिनुभएको छ ।

उहाँहरू दुईजना त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेती गरेर मनग्य आम्दानी गर्ने किसान प्रशस्तै छन् । विभिन्न संघ संस्थाले तालीमको समेत व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउनुहुन्छ ।

सरकारी तवरबाट पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम आउने गरेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको राईले बताउनुभयो । केन्द्रीय चिया सहकारी संघ इलामका अनुसार नेपालभर ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् । करिब १५ हजारले चियामा रोजगार छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार आव २०७३÷७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला झापा, इलाम, पाँचथर, तेह्रथुम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *