लेवनानका प्रधानमन्त्री स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पेरिस, ३ मङसिर । आश्चर्यजनक तरिकाले साउदी अरबबाटै राजीनामाको घोषणा गर्नुभएका लेबनानका प्रधानमन्त्री साद हरिरि झण्डै आधा महिनापछि स्वदेश फर्किनुहुने भएको छ ।

आउदो नोभेम्बर २२ मा लेबनानमा मनाइने स्वतन्त्रता दिवसमा सहभागी हुन आफू स्वदेश फर्किने उहाँले शनिबार पेरिसमा जानकारी दिनुभयो ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल मार्कोनसँग राष्ट्रपति कार्यालय इलिजी प्यालेसमा भएको भेटवार्ता तथा दिवा भोजपछि उहाँले आफू स्वदेश फर्किन लागेको जानकारी दिनुभएको हो । हरिरि शनिबार बिहान साउदी अरबको राजधानी रियादबाट श्रीमती लारा सहित पेरिस आउनु भएको हो ।

“म चाँडै नै बेरुत जानेछु, हाम्रो स्वतन्त्रता दिवसमा सहभागी हुनेछु, त्यसपछि अरु सवै विषयमा के गर्ने भन्ने बारेमा राष्ट्रपति मिचेल औनसँगको भेटवार्तापछि हुनेछ ” उहाँले भन्नुभयो ।

हरिरिले नोभेम्बर २२ का दिन स्वदेश फर्किने बारेमा औनलाई फोन गरेर जानकारी गराएको लेबनानको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री हरिरिले नोभेम्बर महिनाको पहिलो हप्तामा राजीनामाको घोषणा गर्नुभएको थियो ।

हरिरिले शुक्रबार ट्विट गर्दै लेवनानको भविश्यका बारेमा छलफल गर्न रियादमा बसेको उल्लेख गर्नुभएको छ । अरब देशहरुसँगको सम्वन्धका लागि पनि आफ्नो भ्रमण भएको उहाँको भनाई छ । उहाँले यसअघि भने आफूविरुद्ध षड्यन्त्र भएको थाहा पाएर राजीनामाको घोषणा गरेको बताउनु भएको थियो ।

उहाँका बुवा तथा पूर्व प्रधानमन्त्री राफिक अल हरिरिको सन् २००५ मा बम आक्रमण गरी बेरुतमा हत्या गरिएको थियो । उहाँको हत्या अहिले सम्मपनि रहस्यमय नै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *