काठमाडौं आउँदै प्रधानमन्त्री देउवा, सिधै प्रचण्ड निवास लाजिम्पाट जाने, चुनावको सुरक्षा तयारीबारे छलफल गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ मंसिर । एक साता लामो जिल्ला भ्रमणपछि प्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौं फर्कंदै छन् । उनी १० बजे कैलालीबाट राजधानी आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी विगत चार कात्तिक ३० गते गृहजिल्ला डडेल्धुरा पुगेका थिए ।

काठमाडौं आएलगत्तै प्रधानमन्त्री देउवा सिधै लाजिम्पाट पुगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोरा प्रकाश दाहालको निधनमा समवेदना दिने कार्यक्रम छ । देउवाले आइतबार नै सामाजिक सञ्जालमार्फत प्रकाश दाहालको निधनले आफू मर्माहत भएको जनाउँदै प्रचण्ड परिवारप्रति समवेदना दिएका थिए ।

केही दिनयता मुलुकभर उम्मेदवार लक्षित र चुनावी कार्यक्रममाथि बम आक्रमणका घटना बढेपछि प्रधानमन्त्री देउवाले आज बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने भएका छन् । देउवाले सुरक्षा अवस्था चुस्त बनाउनेबारे गृह मन्त्रालयका अधिकारीसहित सुरक्षा अंगका प्रमुखहरूसँग छलफल गर्न लागेको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले गृह मन्त्रालयको नेतृत्व पनि आफैंले गरेका छन् ।

निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र ध्वंसात्मक गतिविधिलाई निस्तेज पारी निर्वाचन सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले काठमाडौं फर्केलगत्तै सुरक्षा अवस्थाबारे छलफल गर्न लागेका हुन् । उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गर्ने तथा विद्युतीय धराप राख्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न आवश्यक पर्ने कदमबारे उनले छलफल गर्न लागेका हुन् ।

आजै मध्यमाञ्चलस्तरीय सुरक्षा बैठक गृह मन्त्रालयमा बस्दैछ । प्रधानमन्त्री देउवासहित बस्ने बैठकमा ३ नम्बर प्रदेशका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूसँग चुनावी सुरक्षा चुनौती र आवश्यक रणनीतिका बारेमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

केही दिनयता भइरहेका शृंखलाबद्ध बम आक्रमणमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हात रहेको अनुमान गरिए पनि सुरक्षा निकाय मौन बसेको र कुनै कारबाहीका काम नगरेको भन्दै आलोचना सुरु हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *