पुत्रशोकमा रहेका प्रचण्डलाई भेटे राष्ट्रपति र प्रधानमन्त्रीले, दाहाल परिवारलाई समवेदना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटर दाहाल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

लाजिम्पाटस्थित प्रचण्ड निवासमा सोमबार बिहान पुगेर राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीता दाहाललाई भेटेर समवेदना प्रकट गरेकी हुन् । सोक्रममा राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्ड र सीतालाई धैर्य रहन आग्रह गरिन् ।

यस्तै सोमबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गरेका छन् । प्रचण्ड निवासमा पुगेर उनले दिवगंत प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दाहाल परिवारप्रति समवेदना पनि व्यक्त गरेका हुन् ।साथै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रचण्डलाई भेटेर समवेदना व्यक्त गरेका छन् । 

यसैगरी, सोमबार बिहान प्रधानन्यायाधीश गोपाल पराजुलीले लाजिम्पाटमा पुगेर प्रचण्डलाई भेटेर दाहाल परिवारलाई समवेदना प्रकट गरे ।

यसअघि आइतबार पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, एमाले उपाध्यक्ष बामदेव गौतम, नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, राप्रपा अध्यक्ष कमल थापालगायतका नेताहरुले समवेदना प्रकट गरेका थिए ।

कूटनीतिक नियोगका प्रतिनिधिले पनि दिए समवेदना

नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले पनि पुत्रशोकमा रहेका प्रचण्डसहित दाहाल परिवार समवेदना व्यक्त गरेका छन् । चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले दाहाल परिवारप्रति समवेदना प्रकट गरेका प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

आइतबार दिउँसो नेपालमा रहेको चिनियाँ दुताबासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो । समवेदनामा चीनले सुपुत्र दाहालको निधनले चीन मर्माहत भएको बताउँदै प्रचण्डको पीडामा चीन साथमा रहेको उल्लेख गरिएको छ । सोमबार बिहान नेपालका लागि चीनियाँ राजदूत यु होङ्ले अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गरे ।

आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र दाहाल परिवारमा समवेदना प्रकट गरे । उनीहरुले नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरे । लगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी माओवादी पार्टी मुख्यालयम पेरिसडाँडा पुगेर अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरे ।

त्यसैगरी संयुक्त राष्ट्र संघको आवासीय कार्यालयका तर्फबाट भलेरि जुलिण्डले पठाएको समवेदना पत्रमा प्रकाश दाहालको अल्पायु र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गरिएको छ ।

सोमबार नै रुसी दूताबासबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको उल्लेख छ ।

प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार बिहान ३६ वर्षको उमेरमा आकस्मिक हृदयघातका कारण मृत्यु भएको थियो । क्यान्सरका कारण छोरी गुमाएको तीन वर्षमै प्रचण्डले पुत्रशोक व्यहोर्नु परेको हो । प्रकाश प्रचण्ड एक्ला छोरा थिए । प्रकाशका दुई श्रीमती र दुई छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *