बैतडीमा ३,५०० जनशक्ति परिचालन, निर्वाचनको तयारी पूरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी, ७ मंसिर ।  पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा तीन हजार ५०० जनशक्ति परिचालन गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीका अनुसार दुई हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र स्वयंसेवक गरी तीन हजार ५१२ जना जनशक्ति परिचालन गरिन लागिएकोे हो । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७३५, सशस्त्र प्रहरीका १८८, नेपाली सेनाका ३१० र म्यादी प्रहरीका ८१५ र अनुसन्धान प्रहरीका १५ गरी कूल दुई हजार ६३ जना सुरक्षाकर्मी खटिने भएका छन् ।

बैतडीमा रहेका १८२ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाँउपालिका र पुर्र्चौडी नगरपालिकामा मतदान सामग्रीसहित कर्मचारी पठाइएको हो । बाँकी ठाउँमा बिहीबारसम्म कर्मचारी पुगिसक्ने जल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेका छन् ।

बैतडीमा थप सात हजार नयाँ मतदाताले मतदान गर्न पाउने भएका छन् । गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै सात हजार ३६ मतदाता थपिएको हो । यसमा ६४ हजार ४७१ पुरुष, ६७ हजार ८४६ महिला र दुईजना तेस्रोलिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *