राजपाको घोषणा पत्र– उमेर पुगेकी बेहुलीलाई सुनको मंगलसूत्र, शहीद परिवारलाई ५० लाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर ।आसन्न निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले बिहीबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पहिलो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधि सुरु हुन केही घण्टा अगाडि बिहीबार महोत्तरीको जलेश्वरमा कार्यक्रम गरी राजपाले सार्वजनिक गरेको घोषणा पत्रमा प्लस टु अध्ययन गरेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने उल्लेख छ ।

‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ’, सार्वजनिक घोषणा पत्रमा उल्लेख छ । साथै आमाको संरक्षकत्वमा भर्खर जन्मिएकी बालिकाको सुरक्षित भविष्यका लागि उसको नामा दीर्घकालीन मुद्दती खाता खोलेर १० हजार रुपैयाँ अनुदान रकम जम्मा गरिने राजपाको चुनावी प्रतिबद्धता छ ।

संविधान जारी भएपछि भएको संघर्षका क्रममा आन्दोलनमा सहभागी भएर मृत्यु भएका मृतकका परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वास दिएको राजपाले यसलाई घोषणा पत्रमा पनि समेटेको छ । प्रदेश २ मा राजपा(फोरम गठबन्धनको सरकार बन्ने भन्दै घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने बताए । यद्यपी ५० लाख रुपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरिएको छैन।

शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने महतोको भनाइ छ ।

साथै राजपाले बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाडौँ निजगढ दु्रतमार्ग र निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल, जनकपुर अन्तर्रा्ष्ट्रिय पर्यटनस्थल एवं विश्व हिन्दू केन्द्र, वीरगञ्ज नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी अन्तर्रा्ष्ट्रिय बुद्धिष्ट केन्द्र, सूचना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन, शहीद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र विशेष क्षेत्रलगायतका १५ बुँदा घोषणा पत्रमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *