‘कर चुहावट र छलीमा क्षम्य गर्न नसकिने’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ७ मंसिर । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले कर चुहावट र छलीका विषयमा कहिल्यै पनि क्षम्य गर्न नसकिने बताएका छन् ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ आयोजित ‘छैटौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदाताका सेवासुविधा र अनावश्यक झन्झटलाई हटाउन सरकार तयार भए पनि कर चुवाहट र छलीलाई क्षमा दिन नसकिने बताए ।

अर्थ सचिव अधिकारीले राजश्व प्रशासन सक्षम र चुस्त–दुरुस्त राखेर लक्ष्य हासिल गर्नका लागि सरकार लागिपरेको बताए । उनले केही दोहोरो कर देखिएको त्यसलाई समाधान गर्नेतर्फ आफूहरु अग्रसर भएको बताए ।

सचिव अधिकारीले सूचना प्रविधिमार्फत करलाई इलोक्ट्रोनिक्स पेमेन्ट (विद्युतीय भुक्तानी) प्रणालीमा लैजान थालेको जानकारी गराए । उनले करदातालाई सहयोग पुर्‍याउन चाँडै नै संघीय राजश्व प्रशासन विस्तार गर्ने योजना रहेको जानकारी गराए ।

सचिव अधिकारीले आर्थिक वृद्धिदर बिना मुलकले समृद्धि हासिल गर्न नसक्ने भन्दै आर्थिक वृद्धिको नेतृत्व गर्न निजी क्षेत्रको सहयोग रहनुपर्ने आवश्यकता रहेको औँल्याए  ।  कार्यक्रममा राजश्व व्यवस्थापन महाशाखाका सहसचिव शोभाकान्त पन्तले डिजिटल भुक्तानी प्रणालीमा लगेर करदाताका समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।

उनले आगामी आर्थिक वर्षदेखि घरबहाल करदातालाई पनि ऐनमा समावेश गर्ने जानकारी गराए । कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले कर कानूनलाई सरल बनाइने बताए । उनले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क करलाई एउटै कानूनमा ल्याउन थालिएको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले अधिकतम करदातालाई समावेश गर्न खालको कानून ल्याउनुपर्नेमा जोड दिए ।महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले कर प्रशासनबाट टाढा बस्न खोज्ने व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्नुपर्ने बताए । कार्यक्रममा उपत्यकाका २५ उत्कृष्ट करदाता र आन्तरिक राजश्व विभाग अन्तर्गतका १९ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *