सेलरोटी बेचेरै मासिक ५० हजार आम्दानी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भरतपुरमा भाटभटेनी सुपरमार्केट खुलेपछि क्षेत्रपुरकी रेखा गुरुङलाई भ्याननभ्याई छ । उज्यालो भएदेखि साँझसम्मै उनी व्यस्त हुन्छिन् । भाटभटेनी सुपरमार्केटका लागि उनले हरेक दिन सेलरोटी, खुरमा, निमकिन, फिने, अनारासा (चिनीरोटी), अर्सा (भेलीरोटी)लगायत परिकार बनाउँछिन् । भाटभटेनीबाटै हरेक दिन पाँच हजारभन्दा माथिको अर्डर आउँछ । साथै अरूले पनि विवाह, पूजाआजाका लागि अर्डर गर्छन् ।

सरदर मासिक ५० हजार रुपैैयाँसम्म फाइदा हुने उनी बताउँछिन् । गत तिहारमा मात्रै उनले ८० हजार रुपैयाँ आम्दानी गरेकी थिइन् । पहिले–पहिले कसैले अर्डर गरे मात्रै बनाएर बेच्ने गरे पनि अहिले भने ‘जेठानी देउरानी’ परिकारका नाममा घरेलु उद्योग कार्यालयमा दर्ता गरेर आफ्नै घरमा व्यवसाय गर्दै आएकी छिन् ।

विवाहको सिजनमा दिनमै २० हजार रुपैयाँसम्म आम्दानी गरेको उनको अनुभव छ । ‘पहिले–पहिले सिजनमा मात्रै बढी व्यस्त भइन्थ्यो भने अहिले दैनिक व्यस्त हुन्छु । हरेक दिन धेरैथोरै उत्पादन गर्दै आइरहेकी छु । बिहानदेखि साँझसम्म यही काममा हुन्छ,’ उनले भनिन् । बजारको मागअनुसार उत्पादन गर्न नसकेको उनी बताउँछिन् ।

व्यापार–व्यवसायबाट बचेको समय उनी राजनीतिमा लगाउँछिन् । विद्यार्थी कालमा उनी कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध थिइन् । ०५६ सालमा तरुण दल चितवनको कार्यसमिति सदस्य भएर काम गरिसकेकी रेखा अहिले पनि नेपाल महिला संघ चितवनकी सदस्य हुन् ।

०४० सालमा गुञ्जनगरमा जन्मिएकी गुरुङ राजनीतिसँगसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन् । अहिलेको व्यवसायले नै सामाजिक र राजनीतिक कार्यमा सजिलो भएको उनको भनाइ छ । टोल सुधार समिति, आमा समूह तथा विभिन्न संघसंस्थामा उनले नेतृत्व सम्हालिसकेकी छिन् । समाजमा उनलाई व्यवसायीको रूपमा खासै चिन्दैनन् । प्रायः सबैले सामाजिक अभियन्ताका रूपमा चिन्ने गर्छन् ।

आर्थिक रूपमा सुविधा सम्पन्न व्यक्ति भएर पनि देशमा रोजगारको सुविधा नै छैन भन्नेहरूका लागि राम्रो उदाहरण बनेकी छिन् रेखा । उनी भन्छिन्, ‘नेपालमा कामै छैन भनेर भौँतारिनेहरू सीप सिक्ने हो भने आफ्नै घरमा छ, रोजगार ।’ तर, नेपाली आफ्नो देशमा केही गर्नेभन्दा पनि अरूकै देशमा मजदुरी गर्न रूचाउने भएकाले समस्या सिर्जना भएको उनी बताउँछिन् ।

डेढ वर्षदेखि भने उनलाई भरतपुर–११ जागृतिचोककी विनादेवी कुमालले सघाउँदै आएकी छिन् । ‘बजारको मागअनुसारको उत्पादन गर्ने हो भने अझै पनि जनशक्ति थप्नुपर्ने स्थितिमा छु,’ उनले भनिन्, ‘तर मान्छे नै पाइँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *