प्रचण्डमाथि खनिए कमल थापा, जनयुद्धका क्रममा कोख रित्तिएका र सिन्दूर पुछिएकाप्रति क्षमायाचना माग्नुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति राप्रपा अध्यक्ष कमल थापाले आक्रोश व्यक्त गरेका छन् । उनले सन्तान शोक सबैभन्दा ठूलो रहेको भन्दै प्रचण्डले विगतमा गरेका कार्यप्रति क्षमायाचना माग्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान ट्विटरमार्फत थापाले जनयुद्धका क्रममा कोख रित्तिएका र सिन्दूर पुछिएकाप्रति प्रचण्डले क्षमायाचना मागे सान्दर्भिक हुने बताएका हुन् ।

‘पुत्र÷पुत्रीको शोकको पीडा कति असैह्य हुन्छ शब्दमा वर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सबैको सहानुभूति रहेको छ । विह्वलको यस घडिमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिन्दूर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुने थियो,’ थापाले ट्विटमा लेखेका छन् ।

गत आइतबार आकस्मिक हृदयाघातले छोरा प्रकाश दाहालको निधन भएपछि प्रचण्ड सार्वजनिक रूपमा त्यति खुल्न सकेका छैनन् । दुई–तीनवटा चुनावी सभामा सहभागी भए पनि प्रचण्डले भाषण गरेका छैनन् । उनले एमाले अध्यक्ष केपी ओलीसँगको संयुक्त चुनावी सभा पुत्र शोककै कारण स्थगित गरेका छन् ।

बिहीबार छोराको निधनमा शोक सन्देश निकालेका प्रचण्डले भावुक हुँदै पुत्र वियोग सबैभन्दा ठूलो शोक रहेको र तत्काल सम्हालिन निकै गाह्रो परेको उल्लेख गरेका थिए । त्यही शोक सन्देशलाई आधार बनाएर राप्रपा अध्यक्ष थापाले जनयुद्धमा हजारौं आमाको कोख उजाडिएको र सिन्दूर पुछिएकाप्रति प्रचण्डले नैतिक जिम्मेवारी लिँदै माफी माग्नुपर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *