कांग्रेसका तीन चुनावी कमान्डर बालकृष्ण खाँण, विनोद चौधरी र गगन थापा, चर्चामा भने खर्बपति चौधरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुँदैछ । मतदान हुने ३७ निर्वाचन क्षेत्रमा निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको जनाएको छ ।

यसपटकको निर्वाचनमा वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कमान्डर रहे । उनीहरू आफ्नो निर्वाचन क्षेत्रबाहेक देशव्यापी चुनावी सभामा सहभागी भए । हेलिकोप्टरबाटै उनीहरूले एकै दिन तीन जिल्लाका चुनावी सभा पनि भ्याए ।

कांग्रेसले भने केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई चुनावी कमान्डर तोकेको थियो । जसमा केन्द्रीय सदस्य गगन थापा र खर्बपति उद्योगी विनोद चौधरी पनि थपिए । तीनैजना कांग्रेसले विभिन्न जिल्लामा आयोजना गरेको चुनावी सभामा सहभागी भइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि विभिन्न जिल्लामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न गइरहेका छन् । तर, कांग्रेसका चुनावी सभामा भने उद्योगपति विनोद चौधरीको क्रेज निकै देखिएको छ । उनलाई कांग्रेसले ठूल्ठूला आमसभामा भाषण गर्न तोकेको छ । कांग्रेसले दिएको जिम्मेवारी चौधरीले सहज ढंगले पूरा गरिरहेका छन् ।

हुन त कांग्रेसले चौधरीलाई समानुपातिक सूचीमा उम्मेदवार पनि बनाएको छ । तर, उनले आफू खुला रूपमा राजनीतिमा प्रवेश गरेको संकेत दिइरहेका छन् । कांग्रेसका आमसभामा धेरै भीड जुट्नुको कारण चौधरी पनि बनिरहेका छन् ।

यस बीचमा चौधरीले सोलुखुम्बु, नवलपरासी, गोरखा, नुवाकोटलगायतका एक दर्जन जिल्लामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । चौधरीले कांग्रेसका युवा नेताद्वय खाँण र थापासँगसँगै एउटै मञ्चबाट भाषण गर्दै कांग्रेसले जिते समाजवाद आउने र आर्थिक क्रान्ति हुने, देशमा विकासका कार्यक्रम अघि बढ्ने भन्दै मतदातालाई आकर्षित गरिरहेका छन् । उनले चुनावी सभामा ‘कांग्रेसलाई जिताउनुस् म विकास दिन्छु’ भन्दै प्रतिबद्धता जनाइरहेका छन् ।

चौधरीको देशव्यापी भाषणले वाम गठबन्धनलाई भने अप्ठेरो पारेको छ । कम्युनिस्टले जिते अधिनायकवाद लागू हुने, कांग्रेसले जिते विकास हुने भन्ने भाषणकै कारण एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाललगायतलाई खण्डन र स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ ।

चौधरी लामो समयदेखि विभिन्न देशमा आर्थिक विकासबारे भाषण गर्दै आइरहेका छन् । उनले ती देशमा गएर विकासका मोडेलसमेत प्रस्तुत गर्ने गरेका छन् । कांग्रेस नेता खाँण समानुपातिक बन्दसूचीमा छन् भने थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा उम्मेदवार हुन् । थापा र चौधरीलाई ७७ जिल्लाबाटै बोलावट भए पनि उनीहरूले अनुकूलता हेरी जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *