निमोनियाका कारण चुनावी अभियान छाडेर अस्पतालको बास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ८ मंसिर ।  नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।”

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहनुभएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आउनुभएको थियो । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको राससलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *