वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर, बहालवाला मन्त्रीसहित दुई पूर्वमन्त्री दोषी किटान, सचिव राईलाई उन्मुक्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ पुस । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
समितिको सोमबार बिहान बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्वपर्यटनमन्त्रीलाई दोषी किटान गरेको छ ।

लेखा समितिले दुई पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई दोषी ठहर गरेको हो । समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी किटान गरेको छ । उनीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ ।
समितिले अनियमिताबारे छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले तत्कालीन पर्यटन सचिव प्रेम राईलाई भने उन्मुक्ति दिएको छ । हाल गृहसचिव रहेका राईलाई लेखा समितिअन्तर्गत गठित उपसमितिले विमान खरिदमा दोषी रहेको उल्लेख गरेको थियो । राईलाई सरकारकै दबाबमा उन्मुक्ति दिइएको बताइएको छ ।

राई मुख्यसचिवको लाइनमा रहेका छन् । प्रधानमन्त्री केपी ओलीले राईलाई मुख्यसचिव बनाउने तयारी गरेका छन् । हालका मुख्यसचिव लोकदर्शन रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट रहेको बताइएको छ । राईलाई सके मुख्यसचिव नभए अख्तियारको प्रमुख आयुक्त बनाउने विषयमा ओलीले आश्वासन दिएको स्रोतले बतायो । सोही कारण वाइडबडी खरिदमा उनलाई क्लिन चिट दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *