अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाको अर्को कर्तुत पर्दाफास, ड्राइभरको मासिक २२ सय डलर तलब आफैंले बुझ्ने गरेको आरोप

  • 109
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    109
    Shares

काठमाडौं, २४ पुस । मानव तस्करीको आरोपमा विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि अर्को आपत आइलागेको छ ।

मानव तस्करीको आरोपपछि स्पष्टीकरण दिन काठमाडांै बोलाइएकी शेर्पाले दूतावासमा ड्राइभर नियुक्त गरेर तलब भने आफैंले बुझ्दै आएको रहस्य खुलासा भएको छ । राजदूत शेर्पाले धुलिखेल–७, काभ्रेका कुमार बिक नाम गरेका नेपालीलाई दुई वर्षका लागि ड्राइभरमा नियुक्त गरेकी थिइन् ।

बिकलाई २०७५ वैशाख १ गतेदेखि २०७७ वैशाख १ गतेसम्मका लागि नियुक्ति दिइए पनि मासिक २२ सय डलर तलब भने अहिलेसम्म उनले नपाएको स्रोतले बतायो । बिकले आफू अन्यायमा परेको भन्दै राजदूत शेर्पाले नियुक्ति दिएको नियुक्तिपत्र र कन्ट्रयाक्ट पेपर सार्वजनिक गरेका छन् । कन्ट्रयाक्ट पेपरमा दुई पक्षले सेवासर्त मान्नुपर्ने उल्लेख गरिएको छ । तर, कुमार बिकको हस्ताक्षर छैन । राजदूतको मात्रै हस्ताक्षर भएकाले सो कन्ट्रयाक्ट पेपर नै नक्कली भएको आशंका गरिएको छ ।

सरकारले सोमबार नै शेर्पालाई राजदूतबाट बर्खास्त गरेको समाचार भाइरल बनेको थियो । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ । उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पती मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी हुन् । परराष्ट्र मन्त्री ज्ञवाली शेर्पा आफैंले राजीनामा दिए उत्तम हुने मनस्थितिमा छन् । एक दुई दिनभित्र उनले राजीनामा नदिए पदबाट बर्खास्त गरी कारबाही गर्ने तयारी सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *