कतैबाट साथ नपाएपछि आत्महत्याको सोच बनाएका कलाकार दीपक क्षेत्री यो दशैंमा निकै खुसी छन् (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनिल पंगेनी

काठमाडौं, ८ असोज । पहिलेको दमदार आवाज, केही वर्षअघिसम्म भासिएको स्वर र अहिले सुधार क्रम यी जिन्दगीका तीन घुम्ती महसुस गरिसकेका कलाकार हुन् दीपक क्षेत्री । आफ्नो हरेक सुख–दुःखमा साथ दिइरहेकी जीवन संगिनी विपना बस्नेतप्रति दीपक अहिले निकै खुसी छन् ।

अघिल्लो वर्ष पाँच सय रुपैयाँले दशैं टारेको बताउने दीपकसँग अहिले निकै पैसा छ । आफ्नो स्वास्थ्य उपचारका लागि देश–विदेशबाट लाखौैं रुपैयाँ जम्मा भएको उनको भनाइ छ । यसपटकको दशैं परिवारसँग रमाइलो गरेर मनाउने उनले बताए ।

दशैँ भन्नेबित्तिकै आफ्नो बाल्यकाल सम्झिने दीपकले यसपटक पनि यसरी सम्झिए, ‘स्कुल पढ्ने बेला घरबाट हेरक दिन खाजाको लागि एक सुका (पच्चीस पैसा) पाइने गरिन्थ्यो, दशैँ आउन एक दुई महिना बाँकी हुन्थ्यो, त्यसपछि हरेक दिन एक सुका जम्मा गरेर दशैँका लागि नयाँ लुगा किनिन्थ्यो, सानोमा त दशैँ कहिले आउँछ जस्तो मात्र हुन्थ्यो, तर अहिले जति ठूलो भयो त्यति दशैँ कम दसा ज्यादा हुन्छ ।’

जीवन संघर्षका क्रममा भोग्नुपरेका कठिनाइ र पीडाबाट गुज्रिने बेला कतैबाट साथ नपाएपछि अति असह्य भएर दीपकले आत्महत्या गर्ने सोचसमेत बनाएका थिए । तर, ती क्षण सम्झँदै अहिले स्वरनलीको उपचार गरिरहेका उनी भन्छन्, ‘सबैको सहयोगले मेरो उपचार भइरहेको छ, मेरा पनि मान्छे रहेछन्, अहिले हर्षित छु, खुसी छु ।’

अप्रेसन गर्नुअघिसम्म धेरै नबोल्न चिकित्सकले दीपकलाई भनेका थिए । तर घाँटीमा भएको मासुको डल्लो निकालेपछि स्वर सानो नै भए पनि धेरै हदसम्म खुलेको छ र बोल्न कुनै समस्या नहुने चिकित्सकले सल्लाह दिएको बताउँछिन् विपना । ‘कहिले आवाज आउँछ अनि ठूलो आवाजमा एकपटक भए पनि दीपकजीले चिच्याएको सुन्न मन छ,’ भावुक हुँदै बिपना बस्नेत भन्छिन् ।

दीपक क्षेत्री हिजोआज कहिलेकाहीँ आफ्ना पुराना चलचित्र युट्युबमा हेर्ने गरेको बताउँछन् । केही दिनअघि आफूले पहिलोपल्ट भिलेनको चरित्र निभाएको ‘पृथिवी’ फिल्म हेरेको बताउँने उनी भन्छन्, ‘अब त्यो सब सपना जस्तो लाग्छ, ठ्याक्कै त्यही स्वर निश्चय नै आउँदैन, तर पनि मर्ने आँट गरेको मान्छेलाई यतिसम्मको सुधार आगामी दिनमा चलचित्र खेल्न प्रेरणादायी नै हुन्छ मेरा लागि ।’

स्वर बसेको क्षणलाई दीपक नकारात्मक मात्र मान्दैनन् । उनले केही निकै रुचाइएका चलचित्रमा समेत काम गर्न पाए । ‘मैले धेरै चलचित्रमा नकारात्मक रोल गरें, सबै एकै किसिमको गर्दा गर्दा वाक्क भइसकेको थिएँ, एक्कासी स्वर सुकेपछि धेरै डाइलग भएको चलचित्र मिल्ने कुरा भएन, यही स्वरले सेतो सूर्य, झोला, राजारानी जस्ता चलचित्रमा काम गर्न पाएँ,’ दीपक भन्छन्, ‘अहिले यी चलचित्रले नै गर्दा मेरो कलाले दर्शकलाई फरक स्वाद पस्किन सफल भएँ जस्तो लाग्छ ।’

तस्विर : दीनेश बाेहरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *