दशैंमा टीका लगाउँदा ठूलाबडाले कति दक्षिण दिन्छन् भनेर हातमा हेरिरहन्थिन् नायिका झरना थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ९ असोज । नायिका झरना थापालाई दशैं भन्नेबित्तिकै बाल्यकालमा ‘चंगा चैट प्रतिस्पर्धाको याद आउँछ । दशैंको समयमा धेरै चंगा उडाउने भएर पनि होला उनलाई आफ्नो बाल्यकालको ‘चंगा चैट’ प्रतिस्पर्धाको याद आएको ।

बाल्यावस्थामा चंगा चैटमा रमाउने झरना दशैंको बेला ठूलाबडाको हातबाट टीका ग्रहण गरिरहँदा हातमा कति रुपैयाँ नोट छ भनेर हेरिरहन्थिन् । अधिकांश बालबालिकामा हुने यो स्वभाव झरनामा पनि रहेको हो । टीका लगाउनेले कति रुपैयाँ दिन्छ भन्ने ध्यान दिने उनी दशैंको बेला खुबै तास खेल्ने गरेको स्मरण गर्छिन् । दशैंका बेला झरनालाई ऊ बेलाको तास खेलेको, पक्कु (खसीको मासुको परिकार) खाएको याद आउने गरेको बताउँछिन् ।

दशैं र दक्षिणको प्रसंगमा झरना आफ्नो विगत खुसी हुँदै सम्झिन्छिन् । ‘सानोबेला भिनाजुलाई भनेर दिने राखिएको दक्षिणा झुक्किएर मलाई प¥यो, निकै रमाएको थिएँ,’ उनले भनिन् । तर, सोझी झरनाको मनमा दक्षिणा धेरै पाएको कुरा अडिन सकेन । अरुले कति पाए उनलाई उत्सुकताले सतायो । त्यसपछि भाइबहिनीहरूको खाम हेर्न थालिन् । उनीहरूलाई दिइएको खाममा ५०र १०० दरका नोट, तर आफ्नो खाममा हात्ती अंकित नोट (एक हजार रुपैयाँ) देखेर झरनालाई खुशीको सीमा रहेन् । खुसीमा हड्बडाएकी उनले आफ्नी आमालाई सबैकुरा सुनाइन् । क्षणभरै उनको खुसी चुँडियो, उनले पाएको दक्षिणा फिर्ता भयो ।

दशैंको बेला साथीसंगी र परिवारका सदस्यहरूसँग बसेर तास खेल्न मन पराउने झरनालाई म्यारिच, छक्काजाम (नयाँ खेल जुन ए मेरो हजुरको सुटिङको बेला सलोनले सिकाएका थिए ), कीट्टी, जुट्पत्ति, फलास मन पर्छ । धेरै पैसामा एकैचोटि खेलिने हुनाले फलास धेरै मन पर्छ उनलाई ।

धर्म–कर्ममा रुचि राख्ने झरनालाई नवरात्रीका बेला व्रत बस्ने पनि मन लाग्ने बताउँछिन् । ‘सधैं धार्मिक भएर बस्न नसकिए पनि कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यको हिसाबले निकै राम्रो हुन्छ,’ झरना भन्छिन् ।

यस वर्षको दशैँ झरनाको लागि निकै विशेष हुने छ । किनकि उनको डेव्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट बनेको छ । छोरी सुहाना पनि यस वर्ष नेपालमै छिन्, सबै परिवारको साथमा झरनाले यस वर्षको दशैं काठमाडौमैं मनाउँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *