वेलायती गायक एड सिरनको गीत कभर गरेको नेपाली ब्याण्ड ‘जटायु’ चर्चामा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनिल पंगेनी

काठमाडौँ, २२ असोज । सांगीतिक क्षेत्रमा नयाँपन भित्र्याउन भन्दै करिब दुई वर्षअघि ’जटायु रेकर्ड’ नामको एउटा सांगीतिक संगठन गठन गरियो । अमेरिकामा संगीत अध्ययन गरेर स्वदेश फर्केका निरन डंगोल र नेपालमै विभिन्न सांगीतिक क्षेत्रमा आबद्ध रहेका न्हूच्छे मुनिकारले आफूले वर्षौंदेखि सिक्दै गर्दै आएको संगीतमा केहि फरक गरूँ भन्ने सोचकासाथ ’जटायु रेकर्ड’ गठन गरेका हुन् ।

समय सापेक्ष हुन जटायुको सुरुवाती ध्यान डीजीटल प्ल्याटफर्ममा रह्यो । विशेषतः युट्युब उनीहरुको पहिलो कर्मथलो बन्यो । पछिल्लो समय उनीहरुले गरेको कभर गीति भिडियो क्यानेडीयन गायक जस्टिन बिबरको ‘लेट मी लभ यू’ र वेलायती गायक एड सिरनको ‘सेप अफ यू’ ले युट्युबमा निकै राम्रो प्रतिक्रिया बटुल्यो ।

जटायुले गरेको पूर्वीय धुनमा पश्चिमा गीतको फ्युजन मन पराउने नेपालका मात्रै होइनन् बाह्य मुलुकका संगीत प्रेमीहरु छन् । यहि दुई भिडियोमार्फत ’जटायु’ टिमसँग संलग्न हुन आइपुगेको अर्को नाम हो– पाल्साङ शेपा । उनी आफ्नै स्वरकै कारण थप चर्चामा छिन् ।

प्रायः एक्लै हुँदा मात्र गुनगुनाउने ‘पाल्साङ’ले सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको भिडियो जटायुका संयोजक निरन डंगोलले देखेपछि उनलाई आफ्नो ब्याण्डमा बोलाएका हुन् । जटायुले जो ट्यालेन्ट भएर प्ल्याटफर्म नपाएका सांगीतिक व्यक्तिहरुलाई स्थान दिने गर्छ । यस टिमसँग आबद्ध हुन आउने धेरै नै रहे, तर पाल्साङले गाएका गीतले नै टिमको उचाइ बढाएको बताउँछन् निरन डंगोल ।

भर्खर कक्षा १२ को परिक्षा दिएर बसेका ब्याण्ड कै कान्छो सदस्य अविन शाक्य, ब्याण्डमा प्रोडक्सन र मार्कटिङ हेर्छन् । ‘लेट मी लभ यू’ कभर उनले नै उत्पादन गरेका हुन् ।

अमित डंगोल आफू व्यवसायिक हिसाबले ट्रेकिङको विभिन्न सामान पाइने पसल चलाउँछन् । फुर्सदको समयमा समयमा यस टिमको भिडियो मेकिङ र सम्पादन पनि हेर्छन् । ब्याण्डका अर्का सदस्य स्यामयुल गन्धर्व सारंगी धुन दिन्छन् ।

चर्चा पाउन एउटै क्षेत्रका हुनु पर्दैन । यसको उदाहरण हो– जटायु । यस ब्याण्डका सबैजसो सदस्य फरक फरक क्षेत्रबाट आएका हुन् । ‘संगीत क्षेत्रलाई मात्रै पूरा समय दिन सकिने अवस्था छैन’, रिदम एरेन्जर न्हूच्छे मुनिकार भन्छन्, ‘विभिन्न ठाउँबाट आएको निकै राम्रो प्रतिक्रियाले हामीहरु हौसिएका छौँ र जटायु सदस्यहरु प्रोफेसन बन्नेमा ढुक्क छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *