एमाले–माओवादी गठबन्धन गर्नुको भित्री रहस्य यस्तो छ, ७० वर्षे उमेरहदले प्रचण्डलाई फाइदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ असोज । चीन र भुटानको सीमाक्षेत्र दोक्लाममा भारतीय सेनाको उपस्थितिपछि दक्षिणका छिमेकी मुलुकको राजनीतिमा सक्रिय देखिएको चीनप्रति नेपालका लोकतान्त्रिक दलहरूको विशेष चासो बढेको छ । अचानक दोक्लामबाट भारतीय सेना पछि हट्नु र नेपालमा कम्युनिस्टहरूको एकता झांगिनुले देशभित्र मात्र होइन, शक्तिकेन्द्रहरूलाई समेत चक्मा दिएको छ ।

नेपाली कांग्रेससँग पाँच वर्षे सहकार्यको सम्झौता गरेर अघि बढेको माओवादी केन्द्रले अचानक आफ्नो रूप बदलेपछि तालमेल सूत्राधारको खोजी भएको हो । हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरालगायतका धेरै नेताहरूलाई निर्वाचन क्षेत्रको समस्या पनि ज्यूका त्युँ थियो । पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौंबाट निर्वाचन जितेका प्रचण्ड दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट पराजित भएपछि सिरहामा जिताइएको हो ।

आउने मंसिर २१ को निर्वाचन हार्ने निश्चित भएको बुझेपछि उनी निर्वाचन क्षेत्रको खोजीमा थिए । निर्वाचन क्षेत्रको खोजीमा रहेको उनको सचिवालय टिमले केही महिनाअघि दाहाल बर्दियाबाट निर्वाचन तयारी ग¥यो । पार्टी च्यानलभन्दा बाहिरबाट सर्भे गराउँदा बर्दियाबाट निर्वाचन हार्न सक्ने निष्कर्ष निकालियो । विभिन्न जालझेल, षड्यन्त्र र कांग्रेसको भिटो प्रयोगबाट छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर बनाएका उनले असोज दोस्रो साता घोषणा गरे, म चितवनबाट निर्वाचन लड्छु । प्रचण्डले चितवनबाट निर्वाचन लड्ने या नलड्ने कुनै टुंगो छैन । तर उनको अर्को घोषणा नहुन्जेल र उम्मेदवार दर्ता नगरुन्जेल चितवनको चर्चा चलिरहनेछ ।

अर्का नेता नारायणकाजी श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर ३ बाट पराजित भएका थिए । त्यसपछि उनले निरन्तर मेहनत गरिरहेका छन् गोरखामा । स्थानीय निर्वाचनमा आफ्नो मतदाता नामावली भएको गाउँपालिकामा नजिते पनि वडामा जिताउन सफल श्रेष्ठले गोरखाबाट टिकट पाउने कि नपाउने विवाद नै थियो । जनाधार भएका भनिएका गोरखाका माओवादी नेताहरू उनको विपक्षमा छन् । प्रचण्ड निवास नै घेरा गरिरहेका छन् उनीहरूले । टिकट नै पाए पनि कांग्रेसले हरि घलेलाई टिकट दियो भने श्रेष्ठका लागि निकै असहज हुने देखिन्छ ।

पहिलो संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचन जितेका रामबहादुर थापा दोस्रो संविधानसभा निर्वाचनमा बहिष्कार अभियानमा थिए । अब उनी कहाँबाट लडने हुन् ? कुनै टुंगो छैन । चितवनमा उनको क्षेत्र कांग्रेस र एमालेको बोलवाला भएको क्षेत्र हो । एमालेले माओवादीका थापालाई समर्थन दियो भने पनि कांग्रेसले जित्ने अवस्था छ ।

कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाउँदा रोल्पाबाट वर्षमान पुनलाई चुनाव लडाउने सहमति भएकाले महराको क्षेत्र अनिश्चित छ । चुनाव लड्ने सहमतिअनुसार पुन रोल्पाका गाउँगाउँ डुलिरहेका छन् । एमालेको समर्थन नपाए समानुपातिकमा बस्ने तयारीमा रहेका महरा दाङ पस्न खोज्दैछन् । यो समस्या अधिकांश माओवादी नेताहरूलाई छ । केही जिल्ला र केही नेताको गरेर १० निर्वाचन क्षेत्रबाहेक माओवादीको काहीँ पनि सुरक्षित छैन । अब हुने निर्वाचनपछि पाँच वर्षसम्म पदविहीन भएर बस्नुपर्ने बुझेपछि माओवादी नेताहरू आफू सुरक्षित हुन तालमेलको खोजीमा लागेका हुन् ।

यो समस्या माओवादीमा मात्र होइन, एमालेमा पनि थियो । दोस्रो संविधानसभा निर्वाचनमा माधवकुमार नेपालले रौतहट १ र काठमाडौं २ बाट जिते पनि उपनिर्वाचनमा काठमाडौं २ छाडेपछि पराजय ब्यहोर्नुप¥यो । काठमाडौं २ का जनता अहिले पनि माधवसँग मात्र होइन, एमालेसँगै रिसाइरहेका छन् । संविधान जारीको समयदेखि रौतहट १ नम्बर क्षेत्रको सदरमुकामबाहेक उनले गाउँ क्षेत्र टेक्नै सकेका छैनन् । त्यसपछि चन्द्रपुर नगरपालिकामा तीन कठ्ठा घडेरी किनेर घर बनाउन सुरु गरेका नेपाललाई स्थानीय निर्वाचनले ठूलो झट्का दिएको छ । काठमाडौं र गौरमा घर हुँदाहुँदै चन्द्रपुरको स्थानीय बन्नलाई घर बनाउँदै गरेका उनको साख त्यहाँ पनि घटेको छ । रौतहट एमाले शून्य भएको दोष उनैमाथि लागेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंमा दुईपटक निर्वाचन हारिसकेका छन् । श्रीमतीलाई सभासद् बनाएर पार्टीबाट क्षतिपूर्ति लिइरहेका भए पनि राज्यको पद पाउन उनी सधैं वञ्चित हुनुपर्ने अवस्था बनेको छ । अहिले उनले माओवादीको मत पाउँदा पनि निर्वाचन जित्नै कठिन छ । यो समस्या भीम रावल, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ सबैले भोगिरहेका छन् ।

काठमाडौंबाट पटक पटक हार्नुभन्दा निर्वाचन जित्ने भनेर योगेशले मतदाता नामावली नै ताप्लेजुङमा सारिसकेका छन् । अझ पछिल्लो चरणमा त केपी ओलीको क्षेत्रमा कांग्रेस, माओवादी र राप्रपा एक भएर अघि बढ्नुपर्छ भनेर माओवादीबाट दमक नगरपालिकाको मेयरमा पराजित भएका गगन पुरीले सबैसँग छलफल चलाइरहेका छन् । बरु राप्रपालाई छोड्ने, तर ओलीलाई जित्न नदिने तयारीपछि ओली झस्किएका हुन् ।

एक्लाएक्लै लड्दा केही सांसद त आउने, तर आफू नआउने बुझेपछि अहिलेको गठबन्धन बनेको हो, माओवादीका एक नेताले बताए । निर्वाचन जित्ने अवस्थामा रहेका वर्षमान पुन, प्रभु साहजस्ता माओवादी नेताहरूले तालमेलको विरोध गर्नु, त्यसैगरी गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डेजस्ता एमाले नेताहरूले पनि सहयोगीहरूसँग गठबन्धनको औचित्य छैन भन्नुले पनि नेताहरूको स्वार्थको संकेत गरेको छ । मन्त्री या मुख्यमन्त्री बन्न लालायित नेताहरूको निर्वाचन क्षेत्र सुरक्षित गर्नकै लागि अहिलेको एकता भएको हो । माओवादीका एक नेताका अनुसार पदाधिकारीस्तरका माओवादीका आधा दर्जन र एमालेका त्योभन्दा बढी नेताहरूलाई विजयी बनाउन अहिलेको गठबन्धन बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *