वाम दुई तिहाइको रहस्य : एमाले उम्मेदवार भएको जिल्लाको मतपत्रमा हँसिया हथौडा नहुने, माओवादी उम्मेदवार भएको जिल्लामा सूर्य चिन्ह नराख्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ असोज । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ सिट जित्ने गरी वाम गठबन्धन गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद हुन्छन् । प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० सांसद हुन्छन् । २७५ को दुई तिहाइ भनेको १८१ सिट हो । वाम गठबन्धनले प्रत्यक्षमा १२२ सिट जित्ने आन्तरिक निष्कर्ष निकालेको छ ।एमालेले ७५ सिट कसैसँग तालमेल नै नगरी जित्ने र माओवादी केन्द्रले तालमेल हुँदा ५६ सिट जित्ने आंकलन गरेका छन् । यसरी संघीय संसद्को दुई तिहाइ जित्ने आंकलन एमाले र माओवादी केन्द्रले बडो सूक्ष्म ढंगले गरेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, स्थानीय तह पुनर्संरचना निर्धारण आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेल, एमाले पदाधिकारीसहितको बैठकले प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ जित्ने निष्कर्ष निकालेको स्रोतले बताएको छ । उप्रेती र पौडेल दुवै एमाले निकट हुन् । पौडेलकै डिजाइनमा स्थानीय तह निर्धारण गर्दा एमालेले जित्ने तह धेरै बनाइएको थियो ।

एमाले र माओवादी केन्द्रले संघीय संसदमा दुई तिहाइ ल्याउन बडो चलाखी अपनाउने भएका छन् । दुवै दलले एमाले उम्मेदवार भएको जिल्लाको मतपत्रमा हँसिया हथौडा नहुने, माओवादी उम्मेदवार भएको जिल्लामा सूर्य चिन्ह नराख्ने सहमति गरेका छन् । सो विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलाई सुझाव दिइसकेका छन् ।

उम्मेदवार मनोनयन भइसकेपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छापिने भएकाले एमाले उम्मेदवार भएको जिल्लाको मतपत्र हँसिया हथौडा नहुने, माओवादी उम्मेदवार भएको जिल्लामा सूर्य चिन्ह नराख्ने गरी छपाइ गर्न प्रचण्ड र ओलीले यादवलाई निर्देशन दिइसकेको स्रोतले बतायो । त्यसो भएमा एमालेको मत र माओवादी केन्द्रको मत खेर नजाने र गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित छ ।

प्रमुख निर्वाचन आयुक्त यादव प्रचण्डले जे भन्यो त्यही मान्ने गर्छन् । निर्वाचन आयोगले अहिलेसम्म जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका पार्टीको चुनाव चिन्ह मतपत्रमा राख्दै आएको थियो । तर, केपी ओली र प्रचण्ड त्यसलाई हटाएर एमाले उम्मेदवार भएको जिल्लाको मतपत्र हँसिया हथौडा नहुने, माओवादी उम्मेदवार भएको जिल्लामा सूर्य चिन्ह नराख्ने निष्कर्षमा पुगेका छन् । जुन कुरा ओलीले सोमबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने फायर साइड कार्यक्रममा संकेत गरेका थिए । एमाले र माओवादी केन्द्रको यो रणनीतिबारे नेपाली कांग्रेस भने पूर्ण बेखबर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *