शेखर कोइरालाको नाम हटाएर कसरी आए महेश आचार्य कांग्रेस संसदीय बोर्डमा ?

  • 544
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    544
    Shares

काठमाडौं, २६ असोज । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट बाँड्ने १७ सदस्यीय संसदीय बोर्ड गठन गर्दा विधान विपरीत गरेको भन्दै असन्तुष्टि सुरु भएको छ । पार्टी विधानमा १४ सदस्यीय बोर्ड गठन गर्न सकिने उल्लेख भए पनि त्यसमा केही थपघट गर्नसकिने जनाइएकाले १७ सदस्यीय गठन गरिएको बताइन्छ ।

तर, बोर्डमा कांग्रेसको १३औं महाधिवेशनमा सर्वाधिक मत ल्याउने डा.शेखर कोइराला नपरेको विषयले यतिखेर निकै चर्चा परिचर्चा पाएको छ । अन्तिममा शेखरको नाम काटेर कसरी महेश आचार्य परे ? भन्ने विषयले कांग्रेसमा बहसको विषय बनेको छ ।

स्रोतका अनुसार कांग्रेस सभापति देउवा बोर्डमा डा.शेखरलाई राख्न चाहन्थे । सो विषयमा नेता रामचन्द्र पौडेललाई पनि पटक–पटक भनेका थिए । देउवासँगको छलफलमा पौडेल पनि राजी नै भएका थिए । तर, महामन्त्री डा.शशांक कोइरालासँग छलफल गरेपछि पौडेलले नै डा.शेखरको नाम राख्न नचाहेको बताइएको छ ।

१३औं महाधिवेशनपछि डा.शेखर कोइराला पौडेल समूहमा छैनन् । उनी आफैं स्वतन्त्र भएर कांग्रेसको राजनीतिमा छन् । बोर्डमा उनको नाम नपर्दा नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । पार्टीमा उनलाई बौद्धिक नेताका रूपमा लिने गरिएको छ । कांग्रेसको सर्वाधिक शक्तिशाली पार्टी निकाय संसदीय बोर्डमा कोइराला परिवारका तर्फबाट महामन्त्री डा.शशांक मात्रै छन् । शेखरको सट्टामा महेश आचार्यको नाम नेता पौडेल र शशांकले नै राख्न सल्लाह दिएको बताइएको छ ।

विगतमा आचार्य कोइराला परिवार निकट भए पनि त्यसपछि भने टाढै थिए । मोरङमा हाबी हुन खोजेको भन्दै आचार्यलाई नजिक आउन दिइएको थिइएन । तर, पार्टी सभापति देउवाले आचार्यलाई च्यापेपछि कोइराला परिवारले उनको नाम आफ्नो पक्षबाट बोर्डमा सिफारिस गरेको कांग्रेस उच्च स्रोतले बतायो ।

कांग्रेसको टिकट बाँड्ने बोर्डमा शक्तिशाली बोर्डमा नुवाकोटका अर्जुननरसिंह केसी, डा.रामशरण महत र डा.प्रकाशशरण महत गरी तीनजना परेपछि कांग्रेसमा विरोध सुरु भएको छ । यी तीनमध्ये एकको नाम हटाएर डा.शेखर र सुजाता कोइरालामध्ये एकको नाम राखेको भए राम्रो हुने अधिकांश नेता कार्यकर्ताको मत छ ।

खुमबहादुर खड्का पक्षबाट बोर्डमा दुईजना परेका छन् । खड्का समूहबाट पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पुष्पा भुसाललाई पछि पारेर आफू बोर्डमा पर्न सफल भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *