चिकित्सा शिक्षा विधेयक पास गर्न सभामुखको विशेष पहलमा बैठक सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । डा.गोविन्द केसीको अनसन तोड्न आवश्यक मानिएको चिकित्सा शिक्षा विधेयक पास गर्न सर्वदलीय बैठक बसेको छ ।

सभामुख ओनसरी घर्तीको विशेष पहलमा संसदमा बुधबार दर्ता भएको चिकित्सा शिक्षा विधेयक एमालेको विरोधपछि पास हुन सकेको छैन । सरकार एमालेको सहमतिमै विधेयक पास गर्न चाहन्छ । सोही कारण बुधबार विधेयक पास नभएको हो ।

सभामुख घर्तीले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा, महिला बालबालिका जेष्ठ समितिकी सभापति रञ्जुकुमारी झा, कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, कांग्रेस नेता गगन थापा, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल,  एमाले नेता राजेन्द्र पाण्डेलगायत सरोकारवालालाई बैठकमा सहभागी गराई छलफल थालेकी छन् ।

सर्वदलीय बैठकमा सहमति जुटाई आज बस्ने संसद् बैठकबाट चिकित्सा शिक्षा विधेयक पास गर्ने सरकारको तयारी छ । संसद् बैठक भोलि शुक्रबारसम्म मात्र चल्ने भएको छ । संसद्को कार्यकाल कात्तिक ४ गतेसम्म भए पनि तिहारको बिदाका कारण शुक्रबारसम्म मात्रै बस्ने भएको हो । सोही कारण बिहीबार र शुक्रबार महत्वपूर्ण सबै विधेयक पारित गर्ने गृहकार्यमा संसद् सचिवालय रहेको छ ।

विगत आठ दिनदेखि अनसनरत केसीले चिकित्सा शिक्षा विधेयक पास नभएसम्म अनसन नतोड्ने बताउँदै आएका छन् । बुधबारदेखि केसीले बोल्नसमेत छाडेका छन् । उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *