एमाले र माओवादी केन्द्रले टुंगो लगाए पूर्वका सात जिल्लामा भागबन्डा, प्रदेश २ र ६ मा आधा आधा सिट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले पूर्वका सात जिल्लामा उम्मेदवार भागबन्डाको टुंगो लगाएको छ । जसमा ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, सोलुखुम्वु, ओखलढुंगा र खोटाङ छन् ।

यी जिल्लामा जनमतको आधारमा एमाले र माओवादी केन्द्र सहितको गठबन्धनका तर्फवाट उम्मेदवार छनोटको टुंगो लगाएको हो । सबै जिल्लामा उम्मेदवार छनोट गर्न तीन दिनको समय पाएको उम्मेदवार बाँडफाँट समितिले एक सातामा सात जिल्लाको टुंगो लगाउन सफल भएको हो ।

समितिले निर्वाचन क्षेत्रका लागि सिट बाँडफाँट गर्न २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको स्थानीय तह निर्वाचनमा दलले पाएको मतलाई आधार मानेर अघि बढ्ने सहमति भने यसअघि नै गरिसकेको छ ।

उम्मेदवार बाँडफाँट समितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव तथा नयाँ शक्तिबाट गंगा श्रेष्ठ सदस्य रहेका छन् ।

फाइल फोटो

एमाले र माओवादी केन्द्रबीच प्रदेश नम्बर २ र ६ मा आधा आधा सिट बाँड्ने प्रारम्भिक सहमति भएको छ । प्रदेश २ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एमाले क्रमशः चौथो र पाँचौं दल बनेका थिए । माओवादीले २१ र एमालेले १८ स्थानीय तह जितेका थिए ।
प्रदेश ६ मा भने माओवादी केन्द्रभन्दा एमाले एक सिटले अगाडि छ । प्रदेश ६ मा एमालेले २६ र कांग्रेस–माओवादी केन्द्रले २६–२६ सिट जितेका छन् । यही आधारमा एमाले र माओवादी केन्द्रले दुईवटा प्रदेशमा बराबरी उम्मेदवार पाउने सहमति गरेका हुन् ।

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले भने आफूले गोरखा जिल्लाबाट चुनाव लड्न नपाए र १५ प्रतिशत सिट नपाए वाम गठबन्धनबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *