डा. केसीको जीवन संकटमा, जुटेन चिकित्सा शिक्षा विधेयकमा सहमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । चिकित्सा शिक्षा विधेयकमा राजनीतिक सहमति नजुटेकाले डा. गोविन्द केसीको अनसनको भविष्य अन्योलग्रस्त भएको छ ।

आफ्नो माग सम्बोधन हुने गरी चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग राखेर डा. केसी हाल १३ औंपटक अनसनरत छन् । तर, सो विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीको आह्वानमा बिहीबार बसेको प्रमुख तीन दलका प्रमुख सचेतक सहित केही संसदीय समितिका सदस्यहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

शुक्रबारसम्म सो विधेयक पारित नभए तत्काल पारित हुने सम्भावना देखिँदैन । सम्भवतः शुक्रबार मौजुदा संसद्को अन्तिम बैठक बस्ने तयारी छ । मौजुदा संसद विघटन भएपश्चात उक्त विधेयकको मात्रै होइन जारी राखेको डा. केसीको अनसनको भविष्य पनि अन्योल छ । माग पूरा नभए अनसन नतोड्ने बताएका केसीको जीवन संकटमा पर्ने देखिन्छ ।

केसीको माग बमोजिम १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनेलगायत विषय समेटेर बुधबार उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका छन् ।

उक्त विधेयकमा सहमति जुटाउन सभामुख घर्तीले बिहीबार प्रमुख तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका केही सदस्यको संयुक्त बैठक राखिन् । तर, उक्त संशोधनसहित विधेयकमा एमाले–माओवादीका सांसद्हरुले असहमति जनाए ।

सो बैठकमा शिक्षामन्त्री श्रेष्ठले संशोधनसिहत विधेयक संसदमा पेस गर्न दिन गरेको आग्रहलाई उनीहरु इन्कार गरेका छ । एमाले र माओवादीका सांसद्हरुले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयक मन्त्रीले संशोधन गर्न नसकिने अडान लिएका हुन् । यदि संशोधन गर्नु पर्ने हो भने सरकारी प्रस्तावलाई फेरि महिला बालबालिका समितिमा नै पठाउनु पर्ने उनीहरुको भनाइ छ ।

एमाले–माओवादी सांसद्हरुको माग अनुसार सो विधेयक फेरि समितिमा पठाउन सकिने सम्भावना छैन । शुक्रबार अन्तिम बैठक बस्ने संसद्को विघटनसँगै संसदीय समिति पनि रहने छैन

संसद्को कार्यकाल कात्तिक ४ गतेसम्म भए पनि तिहारको बिदाका कारण शुक्रबारसम्म मात्रै बस्ने भएको हो । सोही कारण शुक्रबारसम्म सो विधेयक पारित गर्नुपर्ने छ, अन्यथा केसीको माग पूरा नहुन नसक्छ ।

चिकित्सा शिक्षा विधेयक पास नभएसम्म अनसन नतोड्ने भन्दै १३ औंपटक आठ दिनदेखि अनसनरत केसीले बुधबारदेखि बोल्नसमेत छाडेका छन् । उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *