नारायणकाजी श्रेष्ठका कारण वाम गठबन्धन छाड्दै बाबुराम, गोरखा २ मा यस्तो छ माओवादी तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ असोज । वाम गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्न आज नयाँ शक्ति नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवार दिने घोषणा गरेका थिए । तर, एमाले र माओवादी केन्द्रले सो क्षेत्र नछाड्ने अडान लिएपछि बाबुरामले सम्भवतः आज वाम गठबन्धनबाट बाहिरिएको घोषणा गर्नेछन् ।

वाम गठबन्धन घोषणा गर्ने दिन असोज १७ गते तीन दलका शीर्ष नेता जो जहाँबाट पनि उठ्न सक्ने र उसलाई जिताउने सहमति भएको बाबुरामको दाबी छ । तर, गोरखा २ मा माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने भएपछि बाबुराम बिच्किएका हुन् ।

गोरखा २ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार कांग्रेस र माओवादी केन्द्र १७–१७ हजार, नयाँ शक्ति नेपालको सात हजार, एमालेको ६ हजार मत आएको थियो । सोही कारण वाम गठबन्धन बनेमा नारायणकाजीको जित सुनिश्चित हुने माओवादी केन्द्रका नेताहरूको बुझाई छ ।

कांग्रेससँग हटाएर माओवादी केन्द्रलाई एमालेसँगको वाम गठबन्धन बनाउन नारायणकाजीले महत्वपूर्ण भूमिका खेलेका थिए । यसपटकको निर्वाचनमा उनी कुनै हालतमा पनि जित्न चाहन्छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुरबाट उठेका थिए । तर, पराजित बन्न पुगे । त्यसैले एमालेको सहयोगमा आफूले जित्नेमा उनी आशावादी छन् । त्यसैले बाबुरामले नयाँ शक्ति छाडे पनि केही फरक नपर्ने उनको भनाइ छ ।

बाबुरामले माओवादी छाडेपछि गोरखामा उनको संगठन ध्वस्त बनाउन प्रचण्डले विगत दुई वर्षदेखि चुडामणि खड्कालाई फिल्डमै खटाएका छन् । सोही कारण हालैको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिले गोरखाबाट सोचेजति मत ल्याउन सकेन । प्रचण्ड जुनसुकै हालतमा बाबुरामलाई हराउन चाहन्छन् ।

एमाले भने बाबुरामसँग अलि लचिलो बनेको छ । आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य लिएर निर्वाचन लड्ने भएकाले पनि एमाले बाबुरामसँग नरम भएको हो । माओवादी केन्द्रले बाबुरामलाई पार्टीको चुनाव चिन्ह हँसिया हथौडा नलिएकाले पनि गोरखा २ छाड्न दबाब दिइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *