बाबुराम भड्केपछि उपेन्द्र यादवसँग केपी ओलीको ‘गठबन्धन’

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २७ असोज । आसन्न प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाउन सकस भएपछि बिहीबार रातभरि एमाले शीर्ष नेताहरू भूमिगत भए । राजधानीको अज्ञातस्थलमा रातभरि बैठक बसेर उम्मेदवारको टुंगो लगाएपछि एमाले शीर्ष नेताहरू शुक्रबार बिहानदेखि सम्पर्कमा छैनन् । रातभर बसेर गरेको बैठकको निर्णय सार्वजनिक भने गरिएको छैन ।

वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिने भएपछि माओवादी केन्द्रलाई कहाँ कहाँ सिट छाड्ने भन्ने विषयमा एमाले शीर्ष नेताहरूबीच छलफल भएको बुझिएको छ । बैठकमा एमाले अध्यक्ष केपी ओली, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेललगायतका नेता सहभागी भएको स्रोतको भनाइ छ ।

एमालेले असोज २६ गतेसम्म उम्मेदवारको नाम टुंगो लगाइसक्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो । तर, माओवादी केन्द्रसँग कुरा नमिल्दा सकस भएको छ । सोही कारण बिहीबार राति एमाले नेताहरू ‘भूमिगत बैठक’ बसेका हुन् ।
एमालेले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार राति भएको छलफलबाट भएका विषय केन्द्रीय कमिटी बैठकलाई जानकारी गराइनेछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

यसैबीच, एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच केही दिनयता भेटवार्ता बाक्लिन थालेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल वा गठबन्धनबाट बाहिरिने अवस्था सिर्जना भएपछि ओली र यादवबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलबारे छलफल हुन थालेको स्रोतले बताएको छ ।

ओली जुनसुकै हालतमा कांग्रेसको अगुवाइमा बृहत् लोकतान्त्रिक गठबन्धन बन्न नदिने पक्षमा रहेको बताइन्छ । सोही कारण तराई मधेसका जिल्लामा एमाले र संघीय समाजवादी फोरमबीच तालमेल गरेर जान आफूहरू तयार भएको ओलीले यादवसँग प्रस्ताव राखेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *