नेपाल प्रहरीको आईजीपी पद नै ‘अभागी’, आईजीपीको फुली लगाउने सबै भ्रष्टाचार काण्डमा मुछिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल अकूत सम्पत्ति प्रकरणमा अख्तियारको अनुसन्धानमा परेका छन् । अख्तियारले आइतबार अर्यालसँग बयान लिएको छ ।

अर्यालसँगको बयानपछि अहिले नेपाल प्रहरीमा हलचल सुरु भएको छ । नेपाल प्रहरीभित्र आईजीपी पदलाई ‘अभागी’ भन्न थालिएको छ । एकपछि अर्का आईजीपी भ्रष्टाचार र अकूत सम्पत्तिमा जेल परेपछि यस्तो टिप्पणी गर्न थालिएको हो । अर्यालले अख्तियारमा भरेको १३ पन्ने सम्पत्ति विवरण फारममा अर्यालको पाँच करोडभन्दा सम्पत्ति देखिएको बताइएको छ ।

अर्यालमाथि रासन खरिद, प्रहरीको भौतिक संरचना निर्माण, पेट्रोलपम्प सञ्चालन स्वीकृति दिँदा आर्थिक अपचलन गरेको आरोपमा अख्तियारले उनीमाथि छानबिन सुरु गरेको स्रोतले बतायो ।

तीन आईजीपी जेलमा

यसअघि नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी भ्रष्टाचार काण्डमा जेल परिसकेका छन् । सर्वोच्चले सुडानकाण्डमा राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो । सो प्रकरणमा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ । तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ ।

यसअघि पनि तानिएका थिए प्रहरीका उच्च अधिकृत अकूत सम्पत्ति प्रकरणमा

प्रहरी संगठनमा हलचल ल्याउने अर्काे घटना भने प्रहरीका तीन पावरफुल अधिकारीमाथि चलेको अकूत सम्पत्तिको मुद्दा हो । ०५८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन एसएसपीहरू कल्याण तिमल्सिना, किरण गौतम र वसन्त कुँवरको घरमा छापा हानी उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

आफ्नो ब्याचमा पहिलो नम्बरमा रहेका तिमिल्सना प्रहरीमा निकै शक्तिशाली प्रहरी अधिकारीका रूपमा चिनिन्थे । त्यसकारण उनी स्वाभाविक रूपमा प्रहरी महानिरीक्षकका दाबेदार थिए । यही घटनाले उनको करिअरलाई ठूलो धक्का दियो । तर, पछि तीनैजनाले विशेष अदालतबाट सफाइ पाए । अख्तियार आपूmले दायर गरेको मुद्दामा विशेषले सफाइ दिँदा सर्वाेच्च जाने गरेको भए पनि सो मुद्दामा भने गएन । जागिर जोगिएपछि तिमल्सिना र गौतम दुवै एआईजीसम्म भएर गत वर्ष अवकाश पाए । एसएसपी कुँवर भने एसएसपीबाटै अवकाश पाए ।

एयरपोर्ट तस्करी प्रकरण

तस्करी प्रकरणमा प्रहरी महानिरीक्षककै पनि जागिर गएको घटना प्रहरी इतिहासमा छ । तत्कालीन प्रहरी महानिरीक्षक डीबी लामा र दरबारका एडीसी भरत गुरुङ तस्करी आरोपमा ०४३ मा जेल परे । दरबारनिकट व्यक्तिहरू भए पनि उनीहरूलाई दरबारले नै जेल हालेको थियो । स्रोतका अनुसार तत्कालीन रानी ऐश्वर्यको दबाबमा लामा र गुरुङलाई तस्करी गरेको आरोपमा जेल हालिएको थियो ।

लामा र गुरुङको राजा वीरेन्द्रसित निकट सम्बन्ध थियो । गुरुङको घरमा राजा वीरेन्द्रका लागि उनीहरूले सुन्दरीको व्यवस्था गरिदिने गरेको रानी ऐश्वर्यले थाहा पाएपछि उनीहरूलाई तस्करी मुद्दामा जेल हालेको बताइन्छ । जुन कुरा लामाले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् । पछि प्रजातन्त्र आएपछि उनीहरू दुवैलाई सरकाले माफी दिई जेलबाट छुटाएको थियो । त्यही कारण लामा कांग्रेसमा लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *