मुसहर समुदायका ‘हिरो’ राजकुमार महतो, जो नौ वर्षदेखि मुसहर सन्तानको शिक्षामा क्रियाशील छन् (भिडियो)

  • 287
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    287
    Shares

काठमाडौं, २२ कात्तिक । सर्लाही चन्द्रनगर नगरपालिका निवासी राजकुमार महतो यतिखेर मुसहर समुदायका बालबालिकाको जीवनस्तर उकास्न लागिपरेका छन् । विगत नौ वर्षदेखि ‘भुहर’ नामक गैरसरकारी संस्थामार्फत महतो मुसहर बस्तीमा क्रियाशील छन् ।

नेपालका १२ लाख मुसहर जनसंख्यामध्ये अधिकांश गरिबी र पछाडि परेका छन् । मुसहर समुदायमा ९० प्रतिशतभन्दा बढी बाल विवाह हुन्छ । यही देखेर आफूले एनजीओ स्थापना गरी उनीहरूको जीवनस्तर उकास्न लागिपरेको महतोको भनाइ छ ।

धुर्मुस सुन्तलीले महोत्तरीको बर्दिवासमा नमुना मुसहरी बस्ती बसाउन पनि कहीँ न कहीँ महतोकै प्रेरणा रहेको बताइन्छ । ‘भुहर’ नामक संस्थाले मुसहरी समुदायको विकासका लागि गरेको कामको प्रेरणाले नै धुर्मुस सुन्तली फाउन्डेसन सामाजिक काममा लागेको उनको भनाइ छ । ‘हजारौं एनजीओको भीडमा एउटा अर्को एनजीओ थप्नु रहर होइन, कहीं न कहीं धुर्मुस सुन्तलीले मुसहर बस्ती निर्माण गर्नु पनि यसको प्रभाव छ,’ महतोले भने ।

९९ प्रतिशतभन्दा बढी बाल विवाह भएकाले पनि आफूहरूलाई उनीहरूको क्षेत्रमा काम गर्न प्रेरित गरेको उनको भनाइ छ । ‘जुन ठाउँमा ९९ प्रतिशतभन्दा बढी बाल बिवाह हुन्छ, त्यस ठाउँमा दुई वर्षमा १०० प्रतिशत बाल विवाह रोक्छौ भन्नु असम्भव भए पनि काम गर्दै जाने हो,’ उनले भने ।

आजको दिनमा दुई सयजना मुसहर समुदायका सन्तान उच्चशिक्षा अध्ययन गरिरहेको उनले बताए । ‘उनीहरू दिना (बद्रि छात्रवृत्ति कोष) बाट पढिरहेका छन्,’ उनले भने । राजकुमारसहित १५ जना स्वयंसेवीको रूपमा विगत नौ वर्षदेखि भुहर भन्ने संस्थामा लागिरहेका छन्, उनीहरूको उतिबेलाको र अहिलेको प्रमुख मुद्दा भनेको आशा नै नभएको मुसहर समुदायको मानसपटलमा जिउने बाटो देखाउनु नै रहेको उनको भनाइ छ ।

‘मदिरा निषेधित क्षेत्र, स्वच्छ सफा र हरित वातावरण निर्माण, बाल विवाह पूर्ण रूपमा निर्मूल, मानव बस्नयोग्य घरको निर्माणलागायत १५ सूचक र मापदण्ड लिएर अबको चार वर्षमा पूरा गर्ने एजेन्डासहित भुहर संस्था अघि बढ्दै छ, यी सब पूरा भएपछि चार वर्षभित्र नमुना मुसहर बस्ती घोषणा गरिने छ,’ महतोले भने ।

उनले मुसहर समुदाय अत्यधिक मदिरा सेवनकै कारण गरिब बन्न पुगेको बताए । ‘भोलि बिहानलाई खान पुग्ने जोहो छ भने, यो समुदायका कोही पनि आज काम गर्न जाँदैन,’ उनले भने, ‘उनीहरूको अर्को खराब बानी यति दारू खान्छन् कि सायद यसै समस्याको फाइदा पालैपालो विभिन्न तह र तप्काबाट रक्सी र मासुकै भरमा १२ लाख मुसहर हरेक फरक नेताबाट फरक समयमा लिलाममा बेचिने गर्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *