प्रधानमन्त्रीको सल्लाहपछि राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण, डा.केसी अनसन नबस्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेकी छन् । कात्तिक ६ गते मन्त्रिपरिषद्ले जारी गरी राष्ट्रपति कार्यालय पठाएको अध्यादेश १९ दिनपछि राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन् ।

“आज मिति २०७४ साल कार्तिक २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४र७र६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति अध्यादेश प्रमाणीकरण भएपछि ऐन बन्छ । अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठानसमेत खोल्न नपाइने व्यवस्था गरिएको छ । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको उक्त अध्यादेशमा एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन पनि नपाउने पनि व्यवस्था गरेको छ ।

अध्यादेशमा मेडिकल कलेज सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अस्पताल खोल्ने अनुमतिपत्र लिई आफ्नै अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने व्यवस्था पनि थप गरिएको छ । साथै सरकारी र सार्वजनिक शिक्षण संस्थाले कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ । डा.गोविन्द केसीको मागलाई समेटर सरकारले उक्त अध्यादेश ल्याएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन् । देउवाले भेटेरै राष्ट्रपतिलाई अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका थिए । राष्ट्रपतिले १८ दिनसम्म अध्यादेश प्रमाणीकरण नगरेपछि डा.केसी बिहीबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने चेतावनी दिएका थिए । अध्यादेश प्रमाणीकरण भएपछि केसी अनसन नबस्ने भएका छन् । केही दिनअघि केसीले पत्रकार सम्मेलन गरेरै अबको आफ्नो अनसन राष्ट्रपतिविरुद्ध हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *