प्रधानमन्त्री देउवा आजदेखि पश्चिम क्षेत्रको चुनावी प्रचार प्रसारमा, एक सातासम्म कहाँ के गर्नेछन् (कार्यतालिकासहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजदेखि पश्चिम नेपालको चुनावी भ्रमणमा निस्कने भएका छन् ।

प्रधानमन्त्री देउवा नेपालगञ्जमा हुने सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्न त्यसतर्फ लाग्ने भएका हुन् । सुरक्षा गोष्ठीमा सहभागी भएपछि देउवा चुनावी सभा समारोहमा उपस्थित हुनेछन् ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले सोमबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै देउवा एक सातासम्म उतै रहने बताएका हुन् ।

प्रधानमन्त्रीले मंगलबार बाँकेलगायतका पश्चिम जिल्लामा अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्नेछन् । सो दिन उहाँले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । सोही दिन प्रधानमन्त्रीले अन्य पार्टीका नेता, कार्यकर्तासँग संवाद गर्नेछन् । बुधबार उनले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रमे छ । ३० गते प्रधानमन्त्री देउवा गृहजिल्ला डँडेलधुरा पुग्नेछन् ।

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिँदै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ र बाजुराका आमसभाहरुलाई सम्बोधन गर्नेछन् । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसँग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई सम्बोधन गर्न पनि जाने कार्यक्रम रहे पनि दिन भने निर्धारित भएको छैन ।

८० सीट जित्ने दाबी

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन कमिटिका संयोजक खाँणले निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलहरुको तुलनामा नेपाली कांग्रेसको स्थिति झन सुदृढ हुँदै गएको बताएका छन् । उनले पहिले ८० सीट जित्ने दाबी गरिएकोमा त्यसमा केही थपिने स्थिति रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *