आजीवन अध्यक्ष बन्ने कमला श्रेष्ठको चाहनाले सौन्दर्य कला व्यवसायी संघमा भाँडभैलो

  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

काठमाडौं, २९ कात्तिक । कमला श्रेष्ठ चर्चित ब्युटिसियन । विगत साडे तीन दशकदेखि उनी सौन्दर्य कला व्यवसायमा आबद्ध छिन् । नेपालमा सौन्दर्यलाई पेसा र व्यवसायको रूपमा अघि बढाउन यिनको ठूलै योगदान छ ।

तर, आफू आजीवन अध्यक्ष बन्ने उनको लालसाले ‘सौन्दर्य कला व्यवसायी संघ’ मा विवाद देखिएको छ । संघको हरेक तीन–तीन वर्षमा साधारणसभाद्वारा नेतृत्व चयन हुँदै आएको छ । २०६४ सालमा स्थापना भएको संघमा विगत १० वर्षदेखि उनी आफैं अध्यक्ष छिन् ।

कसैले अध्यक्ष पदमा दाबी गरेमा विधान नै परिवर्तन गरेर पद नै खारेजी गर्नेसम्मको हर्कत अध्यक्ष श्रेष्ठले गरेपछि आम सौन्दर्य कला व्यवसायी रुष्ट बनेका छन् । उनले २०७१ सालमा वरिष्ठ उपाध्यक्ष बनेकी शान्ता जिसीको विधान परिवर्तन गरेर खारेज गरिदिएकी थिइन् ।

शान्ता जिसीले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएकी थिइन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता र उद्योग वाणिज्य महासंघमा आबद्ध संघमा तीन–चार सदस्यलाई लिएर अध्यक्ष श्रेष्ठले विधान परिवर्तन गर्ने, बोर्ड बैठक बसेर मनपरी निर्णय गर्ने गरेको उपाध्यक्ष मिना केसीले जानकारी दिइन् ।

केही समअघि बसेको संघको बैठकले कात्तिक २९–३० गते साधारणसभा बोलाउने निर्णय गरेको थियो । २९ गते उद्घाटन गर्ने र ३० गते निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो । तर, सबै तयारी पूरा भएपछि उनले आफ्ना केही नजिकका सदस्यलाई साथमा लिएर साधारणसभा उद्घाटन नै नगरी बुधबार निर्वाचनको तयारी गरेकी छन् । जसको व्यापक विरोध भएको छ । संघको साधारणसभा कुपन्डोल बैंक्वेटमा बोलाइएको छ ।

संघमा १० वर्षदेखिको आर्थिक अनियमितताको पोल खुल्ने भएकाले अरुलाई नेतृत्वमा आउनै नदिन कमला श्रेष्ठले हतार हतार बुधबार निर्वाचनको कार्यतालिका बनाएको कार्यसमितिका सदस्यको दाबी छ । श्रेष्ठलाई कोषाध्यक्ष निशा शाक्यले साथ दिएकी छन् । दुवैको मिलेमतोमा लाखौं रुपैयाँ संघको अनियमितता भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *